माओवादी केन्द्रले राप्तीमा रिङरोड बनाउने

माओवादी केन्द्रले राप्तीमा रिङरोड बनाउने

रत्ननगर । राप्ती नगरपालिकामा माओवादी केन्द्रले रिङरोड बनाउने प्रतिबद्धतासहित निर्वाचनमा होमिएको छ ।
सो नगरपालिकामा माओवादी केन्द्रले रिङरोडसहित २४ बुँदे विकासका प्रतिबद्धतासहित चुजावी मैदानमा होमिएको हो । माओवादी केन्द्र राप्तीमा विकास निर्माण, सुशान, सामाजिक विकास र नगरमा निःशुल्क वाईफाईको व्यवस्था गर्ने योजना सार्वजनिक गरेको छ । अहिले सम्म अस्पताल नभएको सो अस्पतालमा माओवादी केन्द्रले सय शैयाको अस्पताल बनाउने महत्वकांक्षी योजना बनाएको छ ।
सो नगरपालिकामा माओवादी केन्द्रबाट मेयर पदमा रामचन्द्र पाठक र उपमेयर पदमा कल्पना लामा मोक्तानसहित सबै वडामा वडा अध्यक्ष र सदस्यहरु सहित निर्वाचनमा भोट माग्न घरदैलो गरिरहेको छ । माओवादी केन्द्रले सो नगरपालिकामा सय शैयाको आधुनिक अस्पताल निर्माण गर्ने, सबै भूभागमा सिंचाईको व्यवस्था मिलाउने, स्वच्छ खानेपानीको व्यवस्था गर्ने, वीरेन्द्रनगरबाट कान्दा, कान्द्रङ्गढी, ब्रोसवाङ हँुदै परेवाकोट जोडने पर्यटकीय मार्ग निर्माण गर्ने प्रतिबद्धतासहित जनताको घरदैलोमा पुगेको उम्मेदवार पाठकले बताए ।
त्यसैगरी मओवादी केन्द्रले राप्तीका सबै बस्तीहरुमा विद्युतीकरण र सडकस्तरोन्नति गर्ने, लघु जलविद्युत् आयोजनामा भोल्टेज थप गरी मर्मत सम्भार गर्ने, अण्डा, मासु, दूध र तरकारी राप्तीको चिनारी भन्ने नारालाई सार्थक बनाउने योजना अघिसारेको छ । माओवादी केन्द्रले राप्तीलाई पर्यटकीय गन्तव्य बनाउने योजना बनाएको छ । त्यसको लागि उसले राप्तीलाई पर्यटकीय घोषणा गरी भ्यू टावरहरु निर्माण गर्ने, होम स्टे र पर्यटकीय होटलहरु सञ्चालनको लागि व्यवसायीहरुलाई प्रोत्साहन गर्ने योजना अघि सारिएको मेयर पदका उम्मेदवार पाठकले जानकारी दिए ।
खेलकुलको विकासको लागि माओवादीले राप्तीमा कबर्डहल निर्माण गरी युवाहरुलाई खेलकुल क्षेत्रमा क्रियाशील बनाउने, पाँच वर्ष भित्र बेरोजगार समस्या सामधान गर्ने, भूमिहीन सुकुमबासी समस्या सामधान गरी एक वर्ष भित्र सरकारी नियम र कानुन अनुसार लालपुर्जा वितरण गर्ने प्रतिबद्धता जनाएको छ । दलित, महिला तथा बालबालिकाको विकासको लागि नीति बनाएर काम गर्ने, व्यवस्थित र उपभोक्तामैत्री बजार विस्तार गर्ने, सामुदायिक विद्यालयको स्तरोउन्नति गरी गुणस्तरीय र व्यवहारिक शिक्षा लागू गर्ने, भष्ट्राचार, अनियमितता अन्त्य गरी चुस्त प्रशासन चलाउने प्रतिबद्धता जनाएको छ । कृषकलाई पेन्सनको व्यवस्था गर्ने, लोथर, रेवती, मारताल, पम्फा, च्यात्रा तथा ढुंग्रेखोलामा बलियो तटबन्धन गर्ने, ज्येष्ठ नागरिक एवम् एकल महिलालाई सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार बनाउने मेयर पदका उम्मेदवार पाठकले बताए ।
त्यसैगरी नगर भित्र निःशुल्क वाईफाई व्यवस्था गर्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना गरी एक घर एक रोजगारीको व्यवस्था गर्ने, अति विपन्न परिवारको पहिचान गरी विशेष आर्थिक प्याकेज ल्याउने पाठकले बताए । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा मओवादी केन्द्रले राप्तीमा चुनावी गतिविधिलाई तीव्रता दिएको छ ।

 

The post माओवादी केन्द्रले राप्तीमा रिङरोड बनाउने appeared first on चितवन पोष्ट.