युवा नेतृत्वको अपरिहार्यता

युवा नेतृत्वको अपरिहार्यता

फ्रान्समा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा युवा उम्मेदवार इम्यान्युल म्याक्रोन विजयी बनेका छन् । फ्रान्सको राष्ट्रपति निर्वाचनको नतिजाका विषयमा विश्वभर थुप्रै आँकलन गरिए । तर युरोपमात्र होइन, विश्वलाई नै तरंगित गर्ने गरी ली पेनलाई पराजित गर्दै ३९ वर्षीय म्याक्रोन विजयी भए । उनी विजयीमात्र भएनन्, अति दक्षिणपन्थीका रुपमा चिनिने पेनलाई दुईतिहाई मतान्तरले हराएर फ्रान्समा नयाँ अध्यायको सुरूवात पनि गरे । हालसम्मको फ्रान्सेली इतिहासमै सबैभन्दा कान्छो उमेरमा राष्ट्रपति बनेर उनले कीर्तिमान कायम गरेका छन् । विश्वभरबाट उनलाई बधाई तथा शुभकामनाहरुको ओइरो लागेको छ । विजयी जुलुसलाई सम्बोधन गर्दै युवा राष्ट्रपति म्याक्रोनले युरोपेली संघ तथा सम्पूर्ण युरोपवासीलाई पुनः संगठित र सशक्त बनाउने उद्घोष गरेका छन् । राष्ट्रको सबलीकरण र सुरक्षामा समर्पित हुने अभिव्यक्ति दिएर उनले जनमतको सम्मान गरेका छन् । फ्रान्सको राष्ट्रपतिमा म्याक्रोनको नेतृत्वसँगै अहिले विश्वव्यापी रुपमा युवा नेतृत्वको आवश्यकता महसुस भएको छ । यसले के पनि प्रमाणित गर्दछ भने राजनीति गर्न सेतै दाह्री–कपाल फुलाउनु पर्ने, जेलनेल भोग्नुपर्ने र संघर्षमा होमिनुपर्ने बाध्यता अब रहेन ।
राष्ट्रपति पदमा विजयी हुनुअघि म्याक्रोन फ्रान्सको एक मेधावी छात्र, एक सफल बैंक व्यवसायी, उद्यमी, लगानीकर्ता, प्राविधिज्ञ, अर्थविज्ञ तथा फ्रान्सका कुशल अर्थमन्त्रीका रुपमा परिचित थिए । नयाँ विचारको प्रतिनिधित्व गर्ने र युवालाई आकर्षित गर्ने नेताले नै जनमत प्राप्त गर्न सक्छन् भन्ने उदाहरण यो म्याक्रोनको विजय हो । शून्यबाट राजनीति सुरू गरेर गत वर्ष सर्वशक्तिमान राष्ट्र अमेरिकाका राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पको विजयले पनि यही कुराको सन्देश दिन्छ । ट्रम्पको विजयले अमेरिकामा मात्रै हलचल ल्याएन, त्यसले अन्तर्राष्ट्रिय जगत्मा समेत तरंग ल्याइदियोे । ट्रम्पका पक्षमा कसरी जनमत बढ्यो र उनी विश्वभरको आँकलन र अनुमानलाई असत्य साबित गर्दै कसरी राष्ट्रपतिमा विजयी बने ? त्यो जगजाहेर नै छ । उनले उठाएका मुद्दा सायद समय सान्दर्भिक थियो वा अमेरिकाका लागि अनिवार्य थियो, त्यसैले उनी समग्र अमेरिकामा युवाको रोजाइमा परे । प्रजातन्त्रमा सबैलाई सम्हालेर लैजाने शक्तिलाई जनताको समर्थन प्राप्त हुन्छ । फ्रान्समा म्याक्रोनको विजयले राजनीतिक पृष्ठभूमिका नेतृत्वभन्दा नयाँ र सम्भाव्यता बोकेका युवानेताले जनताको समर्थन हासिल गरेको देखाएको छ । म्याक्रोनले फ्रान्सको अर्थतन्त्र र बढ्दो बेरोजगारलाई सम्बोधन गर्ने अभिव्यक्ति दिएपछि युरोपेली संघमा नयाँ आशा र अपेक्षासमेत बढाएको छ ।
नेपालमा यतिबेला स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा गाउँसहर चुनावमय बनेको छ । मतदातामा राजनीतिक चेतना जागृत भइसकेको छ, तर नेपाल अझै पनि विकासोन्मुख राष्ट्रकै पंक्तिमा छ । मुलुकको विकास र समृद्धिमा गति प्रदान गर्न यो निर्वाचन मह¤वपूर्ण छ । र, यसको नेतृत्वले त्यो अभिभारा पूरा गर्नुपर्ने छ । विश्व राजनीतिमा युवा, सक्षम, विकासप्रेमी र जुझारू नेता धमाधम निर्वाचित हुँदैछन् । हामीले त्यसको दृष्टान्त छिमेकी मुलुक र एसियाली तथा युरोपेली राष्ट्रका जनप्रतिनिधिबाट हासिल गर्न सक्छौँ । युवामा नयाँ जोश–जाँगर, कार्यकुशलता, प्रविधिको ज्ञान, दृष्टि र सोच रहने भएकाले अब हरेक निकायमा युवाको नेतृत्व हुनुपर्छ । जनमुखी, विकासप्रेमी र दक्ष युवा नेतृत्वले मात्र मुलुकमा समृद्धि ल्याउन सक्छ । अब हाम्रोभन्दा राम्रो र पुरानाभन्दा सम्भावना बोकेका युवालाई मतदाताले रोज्नुपर्छ । सपना र आश्वासन बाँड्ने नेतृत्व होइन, काम गर्ने ऊर्जावान् र प्रतिबद्ध विकास अभियन्ता हामीले रोज्नुपर्छ । विश्वव्यापी रुपमा युवा नेतृत्वको लहर चलिरहेको परिपे्रक्ष्यमा हामीले पनि गाउँ, नगर र राष्ट्रको समृद्धिमा परिवर्तन ल्याउने स्पष्ट दृष्टिकोण बोकेका युवा नेतृत्वलाई स्थानीय निर्वाचनमा रोज्नुपर्ने भएको छ ।

The post युवा नेतृत्वको अपरिहार्यता appeared first on चितवन पोष्ट.