राप्तीमा चुनावी सरगर्मी बढ्यो,  तीन ठूला दलको त्रिपक्षीय भिडन्त 

राप्तीमा चुनावी सरगर्मी बढ्यो,  तीन ठूला दलको त्रिपक्षीय भिडन्त 

खुरखुरे । चितवनको राप्ती नगरपालिकामा स्थानीय तह निर्वाचनको माहौल एकाएक तात्तिदै गएको छ ।
वैशाख ३१ नजिकिँदै गर्दा नगरपालिकाको मेयर र उपमेयर सहितका उम्मेदवारहरू जनताका घरदैलोमा ठूल्ठूला विकासका योजना लिएर भोट माग्नमा व्यस्त छन् ।
यो नगरपालिका जनसंख्या र क्षेत्रफल दुबै हिसाबले जिल्लाकै दोस्रो ठूलो नगरपालिका हो । साथै यो नगर महाभारत पर्वत श्रृंखलादेखि चुरेको उत्तरतर्फ रहेको खेतीयोग्य समथर मैदानसम्म फैलिएको नगर हो । त्यसैले यहाँका जनताहरू नगरको समथर भूभागदेखि पहाडी भेगसम्मका विकास गर्न सक्ने प्रतिनिधिको पर्खाइमा छन् ।
राप्ती नगरपालिका भित्र सीमान्तकृत चेपाङ समुदाय, अल्पसंख्यक बोटे, मुसहर, माझी तथा आदिवासी थारु समुदायदेखि दलित, जनजाति हुँदै व्राह्मण, क्षेत्री समुदायसम्मको बसोबास रहेको पाइन्छ । खाद्यान्न तथा तरकारी उत्पादन, दूध, केरा, मत्स्यपालन, पोल्ट्रीलगायत कृषिलगायतको पनि पकेट क्षेत्र असमान भौगोलिक अवस्थिति, भौतिक पूर्वाधारको कमी, जनताको न्यूनआयस्तर, बर्सेनि नदी र खोलाहरुबाट हुने खेतीयोग्य जमिनको कटान, वैज्ञानिक कृषि प्रणालीको अभाव, योग्य श्रमशक्तिको बढ्दो विदेश मोह, अशिक्षालगायतका चुनौतीहरु पनि टड्कारो रुपमा अगाडि देखिन्छ ।
तर, यी सबै समस्या समाधानगर्ने प्रतिबद्धताका साथ नगरपालिकाको मेयर पदमा जित्नका लागि यहाँका उम्मेदवारहरू हरेक दिन साँझ–बिहान मरिमेटेका छन् । विशेषगरी मेयर पदका लागि प्रमुख प्रत्यासीको रुपमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र अगाडि देखिएका छन् ।
नेपाली कांग्रेसबाट किरणभूषण ओली, नेकपा एमालेबाट प्रभा बराल र माओवादी केन्द्रबाट रामचन्द्र पाठक चुनावी प्रतिस्पर्धामा छन् । विसं २०४७ सालदेखि हालसम्म एकपटक मात्रै नेपाली कांग्रेसले जितेको यस क्षेत्र नेकपा एमालेको बलियो क्षेत्रको रूपमा लिइन्छ । यसअघि संविधानसभा चुनावमा पूर्वअर्थमन्त्रीसमेत भइसकेका नेता सुरेन्द्र पाण्डेले जितेको क्षेत्र हो । तर, अहिलेको स्थानीय तह निर्वाचनमा भने तीनै दलले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन् ।
कांग्रेसबाट मेयर पदका उम्मेदवार किरणभूषण ओली यो निर्वाचनमा जनताले नगरबासीको राम्रो साथ पाएकोले आफ्नो जित निश्चित भएको दाबी गर्छन् । ‘नगरको स्थिति अस्तव्यस्त बन्दै गएको छ’ उनी भन्छन्, ‘यसका लागि मसँग इच्छा शक्ति भएकोले म काम गर्न सक्छु भन्ने लाग्छ ।’
अहिलेसम्म यो क्षेत्रको प्रतिनिधित्व गरेका नेताहरूले जनताको चित्त बुझ्ने गरी काम गर्न नसकेको बताउँदै उनले थपे, ‘अहिले राप्ती नगरपालिकामा नेपाली कांग्रेस पनि बलियो बनेको छ ।’ नगरको विकासका लागि मतदाताहरुले किरणभूषण ओलीको भिजनलाई हेरेर भोट दिने उनको भनाइ छ । उनले नगरभित्र पर्ने सबै वडाहरूलाई उत्तिकै महत्वका साथ काम गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । आफ्नो मुख्य प्रतिस्पर्धी एमाले भए पनि दुई हजारभन्दा बढी मत अन्तरले जितेरै छाड्ने उनले ठोकुवा गरे ।
अर्को तर्फ नेकपा एमालेबाट मेयर पदका उम्मेदवार प्रभा बराल भने एमाले बाहेक अरूको विकल्प नै नभएको दाबी गर्छिन् । ‘हिजैदेखि एमालेको गढ मानिँदै आएको क्षेत्रमा अरूको त चान्स नै छैन’ उनी भन्छिन्, ‘किनकी एमाले भनेको जनताको पार्टी हो ।’ विगत लामो समयदेखि नै जनताको पक्षमा रहेर काम गर्दै आएकोले जनता सामु लोकप्रियताकै आधारमा एमालेको जित सुनिश्चित भएको उनको भनाइ छ । राप्ती नगरपालिका भित्रको चारवटा वडा पहाडी भेगमा पर्ने भएकोले पहाड र तराईका वडाहरूमा फरक खालका योजना अघि सारेर नगरको विकास गर्ने उनको लक्ष्य छ ।
नगरमा पार्टीको कार्यकर्ता कम भइकन पनि लोकप्रियताका आधारमा आफ्नो जित रहेको नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको दाबी छ । माओवादी केन्द्रबाट मेयर पदका लागि उम्मेदवारी दिएका रामचन्द्र पाठक आफू नगरभित्रको सामाजिक कामका लागि लोकप्रिय भएको दाबी गर्दै नगर विकासको लागि छुट्टै भिजन भएकोले आफ्नो जित हुने बताउँछन् ।
यस्तै राप्रपाका तर्फबाट उम्मेदवार बनेकी मीराकुमारी बर्तौलाले पनि नगरभित्रका सबै खालका समस्या समाधानका लागि आफू योग्य भएकोले लोकप्रियताका आधारमा जित सुनिश्चित रहेको दाबी गर्छिन् । नगरका पहाडदेखि तराईसम्मका सबै क्षेत्रमा भौगोलिक स्थितिको आधारमा काम गर्ने उनले योजना बनाएकी छिन् ।

The post राप्तीमा चुनावी सरगर्मी बढ्यो,  तीन ठूला दलको त्रिपक्षीय भिडन्त  appeared first on चितवन पोष्ट.