सबै पार्टीको प्रतिनिधित्व गरेर काम गर्छु

सबै पार्टीको प्रतिनिधित्व गरेर काम गर्छु

भरतपुर । नेकपा एमालेका तर्फबाट भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार देवी ज्ञवालीले आफू साझा उम्मेदवार भएकाले सबै पार्टीको प्रतिनिधित्व गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भरतपुर महानगर वडा नं. ९ मा मंगलबार भएको चुनावी सभालाई सम्बोधन गर्दै तालमेलका क्रममा मन दुखेका पार्टीहरुका कार्यकर्ता तथा शुभचिन्तकहरुको भावनाको कदर गर्दै उनीहरुको माग अनुसार नै आफूले काम गर्ने बताए । स्थानीयबासी, सबैले चिनेको र काम गर्दै आएको नाताले पनि जनताले देवी ज्ञवालीलाई मन पराएको बताए । आफूले मेयर पदमा जितेमा प्रतिस्पर्धी पार्टी नेपाली कांग्रेसका नेता दिनेश कोइरालालाई साथ लिएर विकास निर्माणको काममा अगाडि बढ्ने बताए । ‘उनको साथ र सहयोगमा आगाडि बढ्ने छु’, ज्ञवालीले भने, ‘यो महानगर तपाइँ हाम्रो साझा हो, नेतृत्वमा म गए पनि योजना विकास र अन्य काम हामी सँगै गर्ने छौ ।’
प्रमुख प्रतिस्पर्धी पार्टीका नेता तथा कार्यकर्तालाई परेको पिरमर्काको बारेमा आफू जानकार भएको बताउँदै उनले नेकपा एमाले सधै मित्रवतरूपमा अगाडि बढ्न तयार हुने पार्टी भएको बताए । तत्कालीन नगरपालिका भएको समयमा पनि आफूले उपमेयर हुँदा यही बसेर जनताको घरदैलोमा पुगेर विकासको काम गरेको भन्दै आउदो दिनमा पनि जनताको भावनालाई ध्यान दिएर काम गर्ने बताए । आफूले जितेमा महानगरमा आधुनिक रंगशाला, सभागृह, नारायणी नदी माथि पुल, मनोरञ्जनको लागि पार्क निर्माण गर्ने बताए ।

The post सबै पार्टीको प्रतिनिधित्व गरेर काम गर्छु appeared first on चितवन पोष्ट.