सामाजिक रुपान्तरणका लागि बुद्धले देखाएको बाटो

सामाजिक रुपान्तरणका लागि बुद्धले देखाएको बाटो

मधुसूदन दवाडी
dmsudan14@gmail.com
आज २६६५ औँ बुद्ध जयन्ती हो । नेपाल बुद्धको जन्मभूमि भएकोले पनि यो दिनको नेपालमा विशेष मह¤व छ । एसियाको तारा भनेर चिनिने बुद्धको ज्ञान र प्रवचनबारे आजसम्म पनि विश्वभर चर्चा–परिचर्चा हुने गर्दछ । बुद्धले सिकाएको अहिंसा र शान्तिको मार्गको सान्दर्भिकता आजसम्म पनि त्यत्तिकै छ । हरेक व्यक्ति खुसी, शान्त रहन र सारा समाज अनि विश्व नै शान्त बनाउन सबैले बुद्धले देखाएको बाटोमा चल्नुपर्दछ । बुद्धले कुनै धर्म नसिकाएर हरेक मानिसलाई जीवन जिउने कला सिकाएका छन् । अहिले जति पनि ध्यान, योगा र मानसिक शान्तिका विषयहरु उठ्ने गर्छन्, सबै दर्शनको मुख्य आधार नै बुद्धले दिएको ज्ञान र मार्ग हो ।
अन्य देशको तुलनामा नेपालमा विशेषगरी बुद्धले सिकाएको ज्ञानको सही उपयोग हुन जरूरी छ । नेपालमा भने बुद्धको ज्ञानको सही प्रचारप्रसार र व्यावहारिक रुपमा उपयोग गरेको देखिँदैन । अझैसम्म पनि बुद्धको ज्ञान अपनाउनलाई भिक्षु नै नै बन्नुपर्छ भन्ने गलत मानसिकता देखिन्छ । नेपालमा धेरै वर्षअगाडिदेखि हिन्दुधर्मको प्रभाव र दबदबा कायमै रहेको थियो, जसले गर्दा पनि बुद्धधर्मको उचित प्रसारप्रसार हुन सकेन । यद्यपि, हिन्दु धर्मग्रन्थमा बुद्धलाई विष्णुको अवतार भनिएको थियो, तर पनि बुद्धको बारेमा यथेष्ट भ्रमहरु कायमै थिए । धेरै वर्षसम्म विश्वका विभिन्न पाढ्यपुस्तकहरुमा बुद्ध उत्तरी भारतमा जन्मिएका भनेर उल्लेख गरिएको थियो । आजभोलि भने नेपालमा जन्मिएको भनेर उल्लेख गरेको देखिन्छ । नेपाल सरकारले त्यस्ता विषयमा खासै चासो राखेको पाइएन । बुद्धको सामान्य परिचयभन्दा बढी विद्यालय तथा क्याम्पसका पाढ्यक्रममा उनको ज्ञानको बारेमा खासै अध्ययन हुन सकेन । बौद्ध विश्वविद्यालय स्थापना भए पनि यसले अझै प्रभावकारी प्राज्ञिक कार्यक्रमहरु सञ्चालन गर्न सकेको छैन । लुम्बिनी क्षेत्र विकास समितिले पनि खासै प्रभावकारी कार्य गर्न सकेको छैन । यस्तो समिति राजनीतिक भागबन्डाबाट आजसम्म पनि मुक्त हुन सकेको छैन । आजसम्म पनि नेपालमा बौद्धधर्म मंगोलियन समुदायले मान्ने धर्म वा परम्पराजस्तो मात्र बनेको छ ।
आजभन्दा झन्डै २७ सय वर्षअगाडि शान्तिको खोजीमा घरपरिवार, सुख र समृद्धि त्याग गरेका बुद्ध पैसा वा दरबारिया सुखबाट मात्र सन्तुष्ट हुन सकेनन् । उनले कयौँ वर्षसम्म तपस्या गरेर अन्ततः दुःख र मानसिक अशान्तिको कारणहरु खोजी गरे । उनका अनुयायीहरु विभिन्न देशमा पुगेर बुद्धदर्शनको प्रचारप्रसार गरे । उनको नाममा विश्वभर ठूला मूर्ति बौद्ध तथा चैत्यहरु बने । उनको जन्म भएको दिनमा धुमधामका साथ बुद्धका अनुयायीहरु पूजापाठ गर्छन्, तर बुद्धले कहिल्यै पनि आफूलाई ईश्वर भनेर घोषणा गरेनन् । उनले पूजापाठभन्दा पनि ध्यानबाट मानिसले मानसिक शान्ति प्राप्त गर्न सक्छ भनेर व्याख्या गरेका विभिन्न पुस्तकमा भेटिन्छन् । उनले मुख्यतया विपश्यना ध्यानमार्फत ज्ञान र मोक्ष प्राप्त गरेका हुन् । विपश्यनाको अर्थ भित्र पसेर हेर्ने भन्ने बुझिन्छ । आफ्नो शरीरभित्र चलिरहेका आरोह–अवरोह र संवेदनाको गहिरोसँग अध्ययन गर्नु नै विपश्यना ध्यानको मुख्य सार हो । मानिस शान्ति र सुखको खोजीमा बाहिर भौँतारिरहेको हुन्छ, तर वास्तविक शान्ति व्यक्ति आफूभित्र नै रहेको हुन्छ । जबसम्म व्यक्तिले बाहिरी दुनियाँमा देखिएका धनसम्पत्ति, पैसा, पदलगायत सबै कुरा नाशवान छन् भन्ने जान्दैन, तबसम्म व्यक्ति अशान्त बन्छ । विपश्यना ध्यानले मानिसको मनमा आउने यस्तै अस्थायी, नाशवान कुरा र शरीरका संवेदनाहरुलाई अनुभव गर्न सिकाउँछ, जसबाट व्यक्ति जस्तोसुकै दुःख वा सुखमा पनि तटस्थ रहने बन्दछ । प्रत्येक क्षण वा प्रत्येक पल सचेत रहेर होसपूर्वक काम गर्नु नै बुद्धले सिकाएको खुसी र सन्तोष प्राप्त गर्ने मुख्य तरिका हो । उनले सिकाएको यही मार्गदर्शनलाई नै ओशो रजनिशले अझ आधुनिकीकरण गर्दै आफ्नो ढंगबाट व्याख्या गरेका हुन् । हरेक व्यक्ति आफैँमा सुखी र खुसी रहेसम्म समाज र देश खुसी तथा शान्त रहन सक्दैन ।
विश्वका सबैभन्दा ठूला भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनले बुद्धलाई विश्वकै निकै महान् व्यक्तित्व भनेर परिभाषित गरेका छन् । कुनै पनि भौतिक प्रविधिको विकास र प्रयोगले मात्र मानिस खुसी हुन नसक्ने उनको ठहर छ । ऊर्जाको विकासको लागि अणु बमको विकास गरेका आइन्स्टाइनलाई उनको त्यो बम मानिस मार्न अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा प्रयोग गरेपछि उनी निकै चिन्तित र बेचैन बनेका थिए । उनले विश्वकै महान् मनोवैज्ञानिक फ्रायडलाई विश्वबाट अशान्ति सधैँको लागि हटाउन सम्भव छ वा छैन ? भनेर सोधेका थिए, तर फ्रायडले सबै मानिस बुद्धजस्तो नबनेसम्म त्यो विषय असम्भव छ भनेका थिए । आखिर विश्वभर कतै धर्मका नाममा त कतै जातका नाममा किन युद्ध भइरहेको छ ? आज विश्व किन यति धेरै आक्रान्त र अशान्त छ त ? अहिले उठेको गम्भीर प्रश्न यही हो । जसको मुख्य कारण हरेक व्यक्तिभित्र रहेको क्रोध, लोभ, अहंकारले गर्दा नै हो । क्रोध, लोभ र अहंकारलाई सधैँको लागि समाप्त गर्नका निम्ति पनि बुद्धले देखाएको मार्गमा हिड्न जरूरी छ । जुन देशमा कलह, झगडा र द्वन्द्व रहेको छ, ती देशहरु विकास र प्रगतिको मार्गमा पछाडि छन् भने जुन देशमा शान्ति छ, त्यो देश प्रगतिको मार्गमा अगाडि लम्किएको देखिन्छ । आज देशको राजनीति अस्थिर बन्नुमा राजनीतिक दल र तिनका नेताहरुको मनमा अशान्ति र अस्थिरता रहनु नै मुख्य कारण हो, जुन हाम्रो देशको विकासको बाधक हो । अस्थिर, लोभी र धूर्त राजनीतिक दलका नेताहरुले गर्दा हरेक महिनाजसो देशमा नयाँ मन्त्री थपिएका छन् । जो मन्त्री बन्न पाएका छैनन्, उनीहरु पनि आफ्नो पालो कहिले आउँछ भनेर कुरेर बसिरहेका छन् । कतिपयलाई मन्त्री पद निर्वाचन जित्दा भएको खर्च उठाउने बाटो बनिरहेको छ । लोभी, धूर्त र आफैँमा अशान्त देशका नेताहरु रहेसम्म देशमा दिगो शान्तिको अपेक्षा गर्न सकिँदैन । पैसा र पदलाई नै वास्तविक शान्ति र खुसी देख्ने भ्रमका कारण देशमा यस्तो समस्या आइरहेको छ ।
आज पश्चिमी विश्व अत्यधिक विकसित भएर पनि आफैँमा खुसी र शान्त हुन नसकेपछि पुनः पूर्वीय दर्शन र मूल्यमान्यतामा फर्किन थालेको छ, जसले गर्दा पनि बुद्धदर्शन र मान्यता झनै बढ्दै गएको देखिन्छ । यथेष्ट विकास र शिक्षाले मात्र पनि पश्चिमा विश्व खुसी हुन नसकेपछि उनीहरु ध्यान र योग तथा ज्ञानको बाटोमा फर्किएका छन् । कुनै बेला पश्चिमा समाज र संस्कृति नै खुसीको पहिलो बाटो हो भनेर मान्ने गरिन्थ्यो, तर आज त्यो गलत साबित भएको छ । मानिसहरु फेरि पनि ध्यान र योगको बुद्धमार्गी बाटोको खोजीमा लागेका छन् । बेलायत र जर्मनका विद्यालय तथा क्याम्पसहरुमा संस्कृति विषय अध्यापन गर्ने परिपाटी थालिनुले पनि विश्व पूर्वीय दर्शनमा चल्न थालेको स्पष्ट हुन्छ । हामीले भने बत्तीमुनिको अँध्यारो भनेझैँ पूर्वीय दर्शन र मूल्यमान्यतालाई बिर्संदै गएका छौँ । व्यक्तिको आफ्नो व्यक्तिगत आत्मशान्तिभन्दा पनि भौतिक विकास निर्माणमा नै खुसी र शान्ति देखिरहेका छौँ, जुन सरासर गलत छ । त्यसैले, आजको विश्वमा हरेक नागरिकले आफूभित्र लुकेको शान्ति र सुख नभेटेसम्म समाजको शान्ति भेट्न असम्भव छ, जसको लागि बुद्धले देखाएको ज्ञान र ध्यानको मार्ग अपनाउन जरूरी छ । तोप, गोली र बम बर्साएर शान्ति कायम गर्छु भनेर लागिपरेका अमेरिका, बेलायत, रुसजस्ता शक्तिराष्ट्रहरु पनि अन्ततः बुद्धले देखाएको शान्तिको बाटोमा नफर्की सुखै छैन । अरुलाई शत्रु देखेर वा गलत देखेर आक्रमण गरेर शान्ति खोज्नुभन्दा पनि आफूभित्रको लोभ, मोह र अहंकारलाई हटाएर मात्र शान्ति स्थापनाको पहिलो पाइला हिँड्न सकिन्छ, जुन अनिवार्य र अपरिहार्य छ ।

The post सामाजिक रुपान्तरणका लागि बुद्धले देखाएको बाटो appeared first on चितवन पोष्ट.