कसको ग्रह बलियो होला ?

कसको ग्रह बलियो होला ?

गैँडाकोट, २८ बैशाख । कसको ग्रह बलियो होला ? कसको एजेन्डा र कसका योजनालाई जनताले पत्याउलान् ? कसलाई जनताले साथ देलान् ? यसको उत्तर वैशाख ३१ को निर्वाचनपछि नै थाहा होला । ब्रह्माण्डमा नौ ग्रह भएजस्तै नगरको विकासका लागि नौ जना व्यक्ति अघि देखिएका छन् । सबै ग्रहको उत्तिकै आवश्यकता र महत्त्व रहन्छ तर समयअनुसार कुनै एक ग्रहको प्रभाव बढी हुन्छ । यसै गरी नगरको विकासका लागि कुन व्यक्ति हावी होला ? सबैका जिज्ञासा हुन सक्छन् । नवलपरासीको 'गैँडाकोट'मा मेयरमा ९ जनाको उम्मेदवारी परेको छ । यसैबीच मेयरका स्वतन्त्र उम्मेदवार एकनाथ पोखरेलले सोमबार फेसबुकमा स्टाटस राख्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन् । तर निर्वाचन कार्यालयले भने उनको नाम प्रक्रियामा लगिसेको गैँडाकोटका सहायक निर्वाचन अधिकृत लिलाधर शर्माले विजय खबरलाई बताए । त्यस्तै उपमेयरमा ७ जना प्रतिस्पर्धामा देखिएका छन् । मेयरमा काँग्रेसबाट गजेन्द्र आलेमगर, एमालेबाट छत्रराज पौडेल, माओवादी केन्द्रबाट दुर्गादत्त ढुंगाना, नयाँशक्तिबाट गोपेन्द्रकेशरी न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीबाट हेमबहादुर थापा सुनारी, परिवार दलबाट शिवप्रसाद रिमालले उम्मेदवारी दर्ता गराएका छन् । मेयरका लागि स्वतन्त्रबाट अनिल गिरी, एकनाथ पोखरेल, कमलबहादुर कुवँर उम्मेदवार रहेका छन् ।   यसैगरी उपमेयरमा १ स्वतन्त्रसहित ७ जनाले दर्ता गरेका छन् । नेपाली काँग्रेसबाट विष्णु कंडेल सापकोटा, नेकपा एमालेबाट राधा पाण्डे, माओवादी केन्द्रबाट पार्वती आचार्य, संघीय समाजवादी फोरमबाट कमला गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीबाट तकुमाया गुरुङ र मालेबाट मायादेवी ठकुरी उपमेयरको प्रतिस्पर्धामा उत्रिएका छन् । गैँडाकोटमा एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ भने यसैगरी नयाँ शक्ति र संघिय समाजवादी फोरमबीच पनि गठबन्धन भएको छ । त्यस्तै उपमेयरमा स्वतन्त्रबाट बाबुराम घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।