कावासोतीमा तीन ठूला दलबीच तीव्र प्रतिस्पर्धा

कावासोतीमा तीन ठूला दलबीच तीव्र प्रतिस्पर्धा

रामकुमार श्रेष्ठ
कावासोती । नवलपरासीको कावासोती नगरपालिकामा प्रमुख पदमा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा माओवादी केन्द्र पनि एमाले र कांग्रेससँगै चुनावी प्रतिस्पर्धामा छ ।
त्यस्तैगरी देशभक्त जनगणतान्त्रिक मोर्चा, राप्रपा पनि तीन ठूला दलसँगै प्रतिस्पर्धामा उत्रिएका छन् । साविकका पाँच गाविसहरु मिलाएर बनाइएको कावासोती नगरपालिकामा कतिपयले अड्कल काटिएको भन्दा फरक मत परिणाम आउने अनुमान पनि गरेका छन् ।
वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसले आफ्नो जित निश्चित भएको दाबी गर्दै आएका छन् भने नेकपा माओवादी केन्द्रले पनि आफ्नो स्थिति अहिले कावासोतीमा राम्रो भएको दाबी गर्दै आएको छ । कावासोतीमा नेकपा एमालेले महिला उमेद्वार चन्द्रकुमारी पुनलाई प्रमुख पदको उमेद्वार बनाएका छ । साविक कावासोती, शिवमन्दिर, पिठौली, अग्यौली, कुमारवर्ती गाविस गरी पाँच वटा गाविस मिलेर बनेको कावासोती नगरपालिकामा साविकका सबै गाविसका अध्यक्ष र उपाध्यक्षहरुमा यस अघिको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले जित हासिल गरेकोले नेकपा एमालेले यस पटक पनि आफ्नो जित निश्चित रहेको दाबी गर्दै आएको छ ।
कांग्रेसले १९ वर्ष अगाडिको परिस्थिति र अहिलेको परिस्थिति फरक भएको भन्दै आफ्नो पक्षमा जित निकाल्ने दाउमा छ । नेपाली कांग्रेसले प्रमुखमा महेन्द्र पोख्रेललाई उमेदवार बनाएको छ । त्यस्तै माओवादी केन्द्रले डासीराम बस्याल माइकललाई प्रमुख पदको उमेदवार बनाएको छ ।
त्यस्तै उपप्रमुख पदमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कडा प्रतिस्प्रर्धा हुने देखिएको छ । कांग्रेस, एमाले र माओवादी केन्द्र तीन वटै पार्टीका उम्मेदवार जनजाति भएका कारणले पनि तीन जनै जनजातिको मतले चुनावी जित्ने दाउमा छन् । कांग्रेसले खगिसरा गुरूङ, एमालेले प्रेमशंकर मर्दनिया, माओवादी केन्द्रले रमिला भुजेललाई उमेद्वार बनाएको छ । त्यस्तै वडा अध्यक्ष तथा सदस्यहरुमा पनि मिश्रित परिणाम आउने देखिएको छ । वडा अध्यक्ष तथा सदस्यहरुमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच मिश्रित परिणाम आउने अनुमान गरिएको छ । १७ वटा वडामा नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरुले उम्मेदवार बनाएका छन् भने कतै कांग्रेस, माओवादी केन्द्र, राप्रपा, जनमुक्तिबीच तालमेल भएको छ ।
३८ हजार ९२९ मतदाता संख्या रहेको कावासोती नगरपालिकामा २५ देखि ३० हजारको हाराहारीमा मतदान खस्ने अनुमान गरिएको छ । जित्नका लागि प्रमुख उपप्रमुख पदका उम्मेदवारहरुले १२ देखि १५ हजार मत ल्याउन आवश्यक देखिन्छ । कम्तीमा तीन दलबीच कडा प्रतिस्पर्धा भए १० देखि १२ हजार मत ल्याउने चुनावमा बाजी मार्ने देखिन्छ ।
कावासोतीमा २१ वटा मतदान स्थल र ४५ वटा मतदान केन्द रहेका छन् । मतदान स्थल र मतदान केन्द्रमा बुधबार साँझसम्ममा कर्मचारीहरु आइपुगेका छन् ।
कावासोतीमा प्रमुख पदमा एक जना, उपप्रमुख पदमा एक जना, वडा अध्यक्षमा १७ जना महिला सदस्यमा १७ जना, दलीत महिला सदस्यमा १७ जना र वडा सदस्यमा ३४ जना विजयी हुने छन् । त्यस्तै दलित र अल्पसंख्यकबाट तीन जना नगर सदस्य छानिने निर्वाचन कार्यालय कावासोतीले जनाएको छ । जनसंख्याको र मतदाता संख्याको हिसाबले कावासोती नगरपालिका नवलपरासीकै ठूलो नगरपालिका हो ।

The post कावासोतीमा तीन ठूला दलबीच तीव्र प्रतिस्पर्धा appeared first on चितवन पोष्ट.