तीन ठूला दलको चितवनमा चुनावी सभा,  भरतपुरमा देउवा र प्रचण्ड, नारायणगढमा ओली

तीन ठूला दलको चितवनमा चुनावी सभा,  भरतपुरमा देउवा र प्रचण्ड, नारायणगढमा ओली

दिपेन्द्र अधिकारी
भरतपुर । स्थानीय तहको निर्वाचन मिति संघारमा आइपुग्दा जिल्लामा पार्टी सम्बद्ध शीर्ष नेता बोलाइ सभा गर्ने होडबाजी चलेको छ ।
चितवनमा भरतपुर महानगरपालिकालाई केन्द्रित गरी आज बिहीबार दुई भिन्न स्थानमा चुनावी सभा आयोजना गरिएको छ । सत्ता साझेदार दलले भरतपुर स्थित केन्द्रीय बसपार्कमा र प्रतिपक्षी दल नेकपा एमालेले नारायणगढ बसपार्कमा सभा गर्न लागेका हुन् ।
सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पचण्ड आज बिहीबार चितवन आउने भएका छन् । भरतपुर महानगरपालिकाको मेयर तथा उपमेयर पदमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएपश्चात दुवै पार्टीका शीर्ष नेतृत्व एकै मञ्चबाट सम्बोधन गर्न आउन लागेका हुन् । तालमेलका क्रममा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मेयर र नेपाली कांगे्रसकी उम्मेदवार पार्वती शाहले उपमेयर पाएका थिए । कार्यकर्ताको भावना विपरीत अन्तिम समयमा केन्द्रबाट नै आफ्नो मेयर उम्मदेवार दिनेश कोइरालाको उम्मेदवारी फिर्ता भएपछि भरतपुर महानगरपालिकामा कांग्रेस कार्यकर्ता आक्रोशित भएका थिए । चुनावी तालमेल भए पनि कार्यकर्ताको असन्तुष्टि सम्बोधन नभएको भन्दै मत परिणाममा नसोचेको घटना नहोस् भन्नका लागि दुबै दलका प्रमुख नेता चितवन आउन लागेका कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले बताए ।
कांग्रेस र माओवादी केन्द्रले भरतपुर केन्द्रीय बस टर्मिनलको खुल्ला चौरमा वृहत आमसभा गर्ने तयारी भएको संयुक्त चुनाव प्रचार समितिले जनाएको छ । प्रचण्ड र देउवा बिहान ११ बजे आइपुग्ने तालिका छ । चुनावी सभालाई भव्य बनाउनका लागि दुबै पार्टी सक्रिय देखिएका छन् ।
त्यस्तै बिहीबार नै बिहान ११ बजे नेकपा एमालेको आयोजनामा नारायणगढस्थित पोखरा बसपार्कमा एमालेले चुनावी सभा आयोजना गर्दैछ । उक्त सभालाई सम्बोधन गर्न पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आउने एमाले जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्काले जानकारी दिए । उनको अनुसार भरतपुर चौबीसकोठीमा भेला भई ¥यालीसहित नारायणगढ बसपार्कमा पुगि सभा हुनेछ । अध्यक्ष ओली र पार्टी महासचिव ईश्वर पोखरेल समेतले सम्बोधन गर्नु हुने एमाले चितवनले जनाएको छ ।
जिल्लामा हालका प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरु र ठूला दलका मुख्य नेता आउने भएपछि सुरक्षा अवस्था निकै कडा पारिएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले बताए । चुनावी सभा व्यवस्थित, शान्त बनाउनका लागि सयौंको संख्यामा नेपाल प्रहरी, शसस्त्र प्रहरी र म्यादी प्रहरी खटाइने प्रहरी प्रमुख थापाले जानकारी दिए । यस जिल्लामा चुनाव बिथोल्नका लागि नेकपा माओवादी ‘विप्लव’ कार्यकर्ताले उम्मेदवार धम्काउने, कालो झण्डा गाढ्ने, उम्मेदवारको गाडीमा बम प्रहार गर्ने, तोडफोड गर्ने गरे पनि प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ । हाल पनि जिल्ला प्रहरी हिरासतमा २० जना जति विप्लव कार्यकर्ता रहेका छन् ।

The post तीन ठूला दलको चितवनमा चुनावी सभा,  भरतपुरमा देउवा र प्रचण्ड, नारायणगढमा ओली appeared first on चितवन पोष्ट.