प्रश्नकर्ताको घेराबन्दीमा परे उम्मेदवार 

प्रश्नकर्ताको घेराबन्दीमा परे उम्मेदवार 

किशोर खनाल
भरतपुर । भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवारहरु प्रश्नकर्ताहरुको घेराबन्दीमा परेका छन् । मेयरका उम्मेदवारहरु प्रश्नकर्तामा घेरामा परेपछि सोधिएका प्रश्नहरुको उत्तर दिन सकेका थिएनन् ।
रिपोटर्स क्लब चितवनले भरतपुरमा गरेको मेयर तथा उपमेयर उम्मेदवारसँगको अन्तक्र्रिया कार्यक्रममा उपस्थित प्रश्नकर्ताहरुले मेयरका उम्मेदवारहरुलाई घेरामा पारेका हुन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट महानगरको मेयरमा उम्मेदवार बनेकी रेणु दाहाल, एमालेको उम्मेदवार बनेका देवी ज्ञवाली र राप्रपाबाट मेयर बनेका बद्री तिमिल्सेनालाई प्रश्नकर्ताले प्रश्न सोधेर नाजवाफ बनाएका थिए ।
प्रश्नकर्ताहरुले गर्न सक्ने कामहरुको मात्र प्रतिबद्धता गर्न उम्मेदवारहरुलाई सुझाव दिएका थिए । कांग्रेस र माओवादीको साझा उम्मेदवार रेणु दाहाललाई प्रश्नकर्ताले दुस्मन भनिएको पार्टीसँग कसरी तालमेल भयो भनेर प्रश्न गरेका थिए । उत्तरमा मेयरकी उम्मेदवार दाहालले भनिन्, ‘राजनीतिमा स्थायी शत्रु हुँदैन । कांग्रेससँग माओवादी केन्द्रको १२ बुँदे समझदारीदेखि विस्तृत सम्झौतासम्म सहयात्रा भइरहेको छ । हाल कांग्रेससँग परिवर्तनका एजेण्डाहरु मिलेका छन् । संघीयता, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक स्थापित भएका पनि कांग्रेसँग मिलेर भएको हो ।’
प्रश्नकर्ताले एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीलाई हावाबाट बिजुली निकाल्नेजस्ता आश्वासन बाँडेर जनतालाई किन भ्रम छर्ने काम गरियो भनेर प्रश्न गरेका थिए । उत्तरमा ज्ञवालीले हावाबाट बिजुली निकाल्ने सम्भव भएको बताए । उनले भने, ‘प्रश्नकर्ताज्यू हावाबाट बिजुली निकालेको देख्न मन भए नेपालको मुस्ताङ जिल्ला जानूस् । त्यहाँ देख्न पाउनुहुन्छ ।’
राप्रपाका मेयर उम्मेदवार बद्री तिमिल्सेनालाई प्रश्नकर्ताले तपाइँले मेयरमा जित्ने जनमत देख्नुभएको छ ? भनेर प्रश्न गरेका थिए । उत्तरमा तिमिल्सेनाले भने, ‘तपाइँहरुले भोट दिए जित्नेछु, भोट नदिए जित्नेछैन ।’ उनले यसोभन्दा जिल्ला समन्वय समितिको हल हाँसोमय भएको थियो ।
कार्यक्रममा माओवादी केन्द्र र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालले चितवनलाई वैकल्पिक राजधानी बनाउने, व्यवस्थित सुन्दर सहर बसाल्ने, महानगरमा बाहिरी र भित्री चक्रपथ बनाउने, नारायणीमा जल यातायातको व्यवस्था गर्ने, अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेलगायतका एजेण्डा सुनाएकी थिइन् ।
त्यस्तै एमालेको मेयर उम्मेदवार देवी ज्ञवालीले उपमेयर हुँदा गर्न खोजिएका अधुरा कामहरु पूरा गर्ने बताए । उनले आफू मेयरमा विजयी भए २९ वडामा स्वच्छ खानेपानी पु¥याउने, प्रत्येक वडामा पार्क निर्माण गर्ने, कविलासमा १२५ मेगावाडको हाइड्रोपावर बनाउने, नारायणी नदीमा तटबन्धन गर्नेलगायतका सयौँ काम गर्ने बताएका थिए ।
यसैगरी राप्रपाका मेयर उम्मेदवार बद्री तिमिल्सेनाले आफू मेयर हुने अवसर पाए सबैभन्दा पहिला विभिन्न क्षेत्रमा भए गरेका दुरुपयोग रोक्ने बताए । उनले भरतपुर महानगरमा ल्याण्डफिल साइट बनाउने, सकुम्बासीलाई आवासको व्यवस्था गर्ने, देवघाटदेखि त्रिवेणीसम्म जल यातायात चलाउनेसम्मको आफ्नो योजना रहेको बताए ।
कार्यक्रममा एमालेबाट महानगरको उपमेयर उम्मेदवार दिव्य शर्मा आचार्य, कांग्रेस माओवादी केन्द्रबाट साझा उपमेयर उम्मेदवार पार्वती शाह, राप्रपाबाट उपमेयर उम्मेदवार रीना गुरुङले पनि विजयी भएमा गर्ने योजनाहरु बताएका थिए । कार्यक्रम रिपोटर्स क्लबका चितवन अध्यक्ष राजु चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

The post प्रश्नकर्ताको घेराबन्दीमा परे उम्मेदवार  appeared first on चितवन पोष्ट.