बुद्धको शान्ति सन्देश आत्मसात् गरौँ

बुद्धको शान्ति सन्देश आत्मसात् गरौँ

हरेक वर्षको वैशाख शुक्ल पूर्णिमाको दिनलाई सिद्धार्थ गौतमको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको त्रिसंयोग दिवसका रुपमा मनाइँदै आइएको छ । हिजो वैशाख २७ गते अर्थात् २५६१ औँ बुद्ध जयन्ती विशेष कार्यक्रम गरी देशभर मनाइएको छ । ईशापूर्व ५६३ मा कपिलवस्तुका राजा शुद्धोधन र रानी महादेवीका सुपुत्रका रुपमा लुम्बिनी उद्यानमा गौतम बुद्धको जन्म भएको विभिन्न ग्रन्थहरुमा उल्लेख छ । मानिसका दुःखकष्ट देख्न नसकेर युवा अवस्थामा दरबारको सुखसयल छाडेर तपस्या गर्न निस्किएका सिद्धार्थ गौतमले वैशाख शुक्ल पूर्णिमाकै दिन बोधगयास्थित बोधिवृक्षमुनि बुद्धत्व प्राप्त गरेपछि उनी गौतम बुद्धका रुपमा चिनिए । बुद्धको अर्थ चार आर्य बुझ्ने व्यक्तिलाई बुझाउँछ । गौतम बुद्धको शान्ति, अहिंसा, मैत्री र करूणा आजपर्यन्त विश्वभर उत्तिकै सान्दर्भिक बन्न पुगेको छ । बुद्धले विश्वशान्तिको मार्गदर्शन गरेको हुनाले बुद्धमार्गीसमेत संसारभर बढेका छन् । ‘बुद्धम् शरणम् गच्छामि, धम्मम् शरणम् गच्छामि, संघम् शरणम् गच्छामि’ भनेर बुद्ध विचार र दर्शनको संसारभर अनुयायी बढिरहेका छन् ।
बुद्धले धार्मिक स्वतन्त्रता, समानता र नैतिक शिक्षामा जोड दिएका छन् । गौतम बुद्धका विचारहरुको संसारभर सफल सञ्चारण हुन नसकेको भए आज हामीले उनको शान्ति सन्देश, धर्मदर्शन र उपदेशहरुबाट अवश्य पनि लाभ लिन सक्ने थिएनौँ । गौतम बुद्धको शान्तिको उपदेश विश्वव्यापीकरण हुन नसकेको भए हामी सगर्व बुद्ध जन्मिएको देश, शान्ति क्षेत्र लुम्बिनी र शान्तिको देशका रुपमा विश्वभर चिनिन पाउने थिएनौँ । यति हुँदाहुँदै पनि गौतम बुद्धको जन्मभूमिबारे दुष्प्रचार गरिन छाडिएको छैन । लुम्बिनी, गौतम बुद्ध र विश्वशान्ति एकअर्कामा अन्योन्याश्रित रहेको तथ्य विश्वभर प्रचार गर्नु आज पनि उत्तिकै जरूरी देखिएको छ । बुद्धको असल विचारको सञ्चार गर्न सकिएमात्रै बुद्ध जन्माउने नेपाल राष्ट्रप्रति विश्वले गौरवबोध गर्नुका साथै बुद्धका विषयमा गरिएको दुष्प्रचार र भ्रम निवारण हुनसक्ने छ । बुद्धले अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य र मद्यनिषेधजस्ता कुराहरुलाई पञ्चशीलका रुपमा मह¤व दिएका छन् । विभिन्न द्वन्द्व र युद्धको अन्त्य गर्न बुद्धको शान्ति सन्देश आत्मसात् गर्नु जरूरी छ ।
बुद्ध जन्मिएको देश भनेर संसारभर ठाडो शिर बनाउने हामीले आन्तरिक रुपमा भने उनको शान्ति सन्देश आत्मसात् गर्न चुकेका छौँ । दस वर्षे द्वन्द्वपश्चात् मुलुक शान्तिको मार्गमा अघि बढे पनि विभिन्न खाले द्वन्द्व भने समाजमा अद्यापि विद्यमान छ । जातीय हिंसा र छुवाछूतका कारण समाज अझै पनि विभाजित भइरहेको छ । नेपालमा बुद्ध जयन्ती मनाइरहँदा बुद्धशिक्षाको अनुसरण पनि गर्नुपर्ने देखिएको छ । समानता र न्यायपूर्ण समाज निर्माणका लागि बुद्धको सन्देश मह¤वपूर्ण छ । लुम्बिनीलाई संसारकै उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्न सरकारले लुम्बिनी गुरूयोजना अगाडि बढाएको छ । तर, लुम्बिनी बृहत्तर योजनामा विश्वसमुदायलाई आकर्षित गर्नुपर्नेमा राजनीतिक खिचातानी बढिरहेको छ । यसतर्फ मनन गर्दै सरकारले युद्धस्तरमा काम अगाडि बढाउने वातावरण सिर्जना गरेर लुम्बिनीको सांस्कृतिक, पर्यटकीय, धार्मिक स्थलको पहिचान र संरक्षण विकासमा द्रुतगतिमा विकास गर्नुपर्ने देखिएको छ । जसले पवित्र लुम्बिनी क्षेत्रलाई विश्वकै पर्यटकीय गन्तव्यका रुपमा परिचत गराउनुका साथै विश्वभर बुद्धको शान्ति सन्देश प्रवाहित गराउन पनि मद्दत पु¥याउने छ ।

The post बुद्धको शान्ति सन्देश आत्मसात् गरौँ appeared first on चितवन पोष्ट.