बौद्धमार्गीले मनाए बुद्धजयन्ती

बौद्धमार्गीले मनाए बुद्धजयन्ती

तुलमान गुरूङ
भरतपुर । चितवनका बौद्धमार्गी गुरूङ समुदायले बुधबार गौतम बुद्धप्रति आस्था प्रकट गरी २५६१ औँ बुद्ध जयन्ती मनाएका छन् ।
बुधबार महाबौद्ध गुम्बा तीनखोले भरतपुरमा उनीहरुले विशेष कार्यक्रम आयोजना गरेर धुमधामका साथ बुद्ध जयन्ती पर्व मनाएका हुन् । बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि यसै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीहरूले त्रिसंयोग दिवसको रुपमासमेत लिने गर्छन् ।
बौद्ध धर्म सेवा समिति चितवनले आयोजना गरेको कार्यक्रममा जिल्लाभरका बौद्ध धर्मावलम्बी गुरूङहरू जातीय पहिरनमा सजिएका थिए । उक्त अवसरमा नेपाल तमू विद्यार्थी छोँज धीँ चितवनले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । विद्यार्थीहरूले चुड्का, सालैजोलगायत गुरूङ भाषाका गीतमा उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा तमू ह्युल छोँज धीँ, गुरूङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष रेशम गुरूङले भगवान गौतम बुद्धले दिएको उपदेशलाई आम मानिसहरूले व्यवहारमा लागू गर्न सक्ने हो भने हरेक व्यक्ति सफल हुने विश्वास दिलाए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गुरूङले भने, ‘बहुधार्मीक देशको रूपमा परिचित हाम्रो देश नेपाललाई विश्वसामु थप परिचित बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेको छ ।’
बुद्ध जयन्तीले धार्मिक रूपले बौद्ध धर्म मान्नेहरूलाई एकत्रित गर्न सफल बनाएको बौद्ध धर्म सेवा समिति चितवनका अध्यक्ष गणेशबहादुर गुरूङले बताए । तमू ल्होछार, बुद्ध जयन्तीलगायतका पर्वहरूले समुदायमा थप माया र सद्भाव बढाएको उनको भनाइ छ ।
दुई पुस्तक विमोचन
उक्त अवसरमा बौद्ध धर्म सेवा समिति चितवनले प्रकाशन गरेका दुईवटा पुस्तक समेत विमोचन गरिएको छ । समितिका पूर्वअध्यक्ष अक्कलध्वज गुरूङको संयोजकत्वमा प्रकाशनमा आएको ‘शान्तिदीप’को आठौँँ संस्करण तथा समालोचक डीआर पोखरेलद्वारा लिखित ‘बौद्ध पवित्रस्थलहरू’ नामक पुस्तक तमू ह्युल छोँज धीँका केन्द्रीय अध्यक्ष रेशम गुरूङको हातबाट विमोचन गरिएको हो । दुवै पुस्तक बौद्ध धर्मसँग सम्बन्धित लेख रचनाका साथै विभिन्न स्थानमा रहेका बौद्ध धार्मिकस्थलहरूको विषयमा जानकारी दिने उद्देश्यले प्रकाशनमा ल्याइएको समालोचक डीआर पोखरेलले बताए ।
विभिन्न व्यक्तित्व सम्मानित
बुद्ध जयन्तीको अवसरमा बौद्ध धर्म सेवा समिति चितवनले वर्ष २०७३ सालभर भएका हरेक कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा महत्वपूर्ण भूमिका निर्बाह गरेको भन्दै उत्कृष्ट महिलामा भुनु गुरूङ र उत्कृष्ट पुरूषमा उत्तरकुमार गुरूङसहित सात जनालाई सम्मान गरेको छ ।
उत्कृष्ट व्यक्तिको रूपमा सम्मानित भएका गुरूङद्वयलाई मायाको चिनो र सम्मान पत्र पदान गरेको छ । अन्य सम्मानित भएका व्यक्तित्वहरूलाई सम्मानपत्र र खदा लगाएर सम्मान गरिएको आयोजक समितिकी सचिव विमला गुरूङले जानकारी दिइन् । यस्तै बौद्ध धर्म सेवा समितिका कोषाध्यक्ष कर्णबहादुर गुरूङको परिवारले स्वर्गीय मातापिता अमरबहादुर गुरूङ र सिरसुबा गुरूङको नाममा तुलादानबापत ३९ हजार ५०० रूपैयाँ गुम्बा व्यवस्थापन समितिलाई प्रदान गरेको छ ।

The post बौद्धमार्गीले मनाए बुद्धजयन्ती appeared first on चितवन पोष्ट.