‘कांग्रसले नाम्लो लगाएर माओवादी बोक्यो’

‘कांग्रसले नाम्लो लगाएर माओवादी बोक्यो’

दिपेन्द्र अधिकारी
भरतपुर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी–कांग्रेस गठबन्धनतर्फ इंगित गर्दै कांग्रेसले नाम्लो लगाएर माओवादी बोकेको आरोप लगाएका छन् । नारायणगढ बसपार्कमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कथित युद्धका नाममा अरुका छोराछोरी मारेर वा मार्न लगाएर आफ्नो छोरीलाई मेयरको उम्मेदवार बनाएको भन्दै आक्रोश व्यक्त गरे । उनले भरतपुर महानगरमा कांग्रेस– माओवादी केन्द्रको गठबन्धनले प्रचण्डकी छोरी जिताउने र देउवा प्रधानमन्त्री बन्ने दाउमात्र रहेको दाबी गरे ।
उनले सामाजिक न्याय, समानता र राष्ट्रिय एकताका लागि पार्टीले अत्यधिक बहुमत ल्याउनुपर्ने बताए । चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘राष्ट्रियता बचाउनका लागि जो अडिग छ उसैलाई छान्नुस्, त्यहीँ तपाईं मतदाताहरुको भलो छ ।’
उनले विदेशीको अघिल्तिर लम्पसार पर्दा सत्ताधारी दलका नेताहरुको घुँडाभरि घाउ नै घाउ भएको टिप्पणी गरे । उनले भने ‘राष्ट्रिय एकता र अखण्डतालाई कमजोर बनाउन लम्पसार पर्दा उनीहरुका घुँडामा टाटैटाटा परेका छन् ।’
उनले एमालेले विकासका कुरा गर्दा हाँस्ने पार्टीहरु अब एमालेको बहुमत आएपछि पूर्णरुपमा समाप्त हुने दाबीसमेत गरे ।
चुनावी सभामा एमाले महासचिव ईश्वर पोखरेल, स्थायी समितिका सदस्य सुरेन्द्र पाण्डे, भरतपुर महानगरका एमाले उम्मेदवार देवी ज्ञवाली, उपमेयरकी उम्मेदवार दिव्या शर्मा, जिल्ला सचिव पार्वती रावललगायतले मन्तव्य राखेका थिए ।
नेपालीको शिर झुक्न दिँदैनौं : ओली
यसैबीच, पूर्वी चितवनको रत्ननगरमा भएको आमसभामा ओलीले विदेशीको सामु नेपालीको शिर झुक्न नदिने बताएका छन् । उनले नेपालीको शिर उच्च राख्न एमालेले राजनीति गरेको बताए ।
‘हामी पद र परिवारका लागि राजनीति गरेका होइनौँ’ उनले भने, ‘राष्ट्रिय एकता र विकासको लागि राजनीति गरेका हौँ । कांग्रेस र माओवादी केन्द्रबीच भरतपुर महानगरमा भएको चुवानी तालमेललाई लक्षित गर्दैै एमाले अध्यक्ष ओलीले कांग्रेस र माओवादीले पद र परिवारका लागि राजनीति गरेको आरोप लगाए ।
अध्यक्ष ओलीले प्रचण्डको छोरीलाई मेयर र शेरबहादुर देउवालाई प्रधानमन्त्री चाहिएकाले महानगरमा तालमेल भएको बताए ।
अध्यक्ष ओलीले एमालेले पूर्व–पश्चिम रेलमार्ग निर्माण गर्ने बताए । ‘अहिले रेल चढ्न भारत जानुपर्छ, एमालेलाई भोट दिएर जिताए हामी स्वदेशमै रेल चलाउँछौँ ।’
सभामा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले सुकुमवासीलाई लालपूर्जा र सामाजिक सुरक्षा भत्ता बढाउन पनि एमालेको जित आवश्यक रहेको बताए । उनले एमालेले चुवाब जिते सामाजिक सुरक्षा भत्ता मासिक पाँच हजार पु¥याउने बताए ।
कार्यक्रममा मेयर पदका उम्मेदवार नारायण वनले विकासको हिसावले पाँच वर्षमा रत्ननगरलाई कायापलट गर्ने बताए । उनले भने–‘तपाईंहरुले हामीलाई भोट दिनुहोस्, हामी तपाईंहरुलाई सुन्दर नगर दिन्छौँ ।’
उपमेयर पदकी उम्मेदवार विमला दुवाडीले रत्ननगरलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने बताइन् । ‘हामी रत्ननगरलाई सुशासनसहितको सुन्दर नगर बनाउँछौँ’ उनले भनिन् ।
सो अवसरमा अन्य पार्टी परित्याग गरी एकदर्जन मानिस एमालेमा प्रवेश गरेका थिए । निर्वाचन परिचालक कमिटीकी संयोजक सुशीला लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कलाकार राजेन्द्र हमालसहित अन्य कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

The post ‘कांग्रसले नाम्लो लगाएर माओवादी बोक्यो’ appeared first on चितवन पोष्ट.