कांग्रेस र माओवादी केन्द्रको  तालमेल नयाँ प्रयोग : प्रचण्ड

कांग्रेस र माओवादी केन्द्रको तालमेल नयाँ प्रयोग : प्रचण्ड

–तुलमान गुरूङ
भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार हुन लागेको स्थानीय तहको निर्वाचन नेपालको इतिहासमै पहिलोपटक हुन लागेको बताएका छन् ।
बिहीबार नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्तरूपमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले नेपाली जनताले पहिलोपटक स्थानीय सरकार चुन्ने अधिकार पाएकोले नेपालको इतिहासमै पहिलोपटक ऐतिहासिक निर्वाचन हुन लागेको बताएका हुन् ।
‘सबैले १९ वर्षपछि भनिरहेका छन्, तर, म भन्छु, १९ वर्षपछि होइन । पहिलोपटक हुन लागेको हो,’ उनले भने, ‘किनकि हामीले कुनै गाविस अध्यक्षलाई चुन्न लागेका होइनौँ । आधिकारिक रूपमै स्थानीय सरकार चुन्दै छौँ ।’ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको तालमेलका कारण गठबन्धन पक्षको जित हुने उनको दाबी छ । ‘हामी थोरै मतले होइन, भारी मत अन्तरले जित्छौँ,’ उनले भने ।
स्थानीय चुनावमा कांग्रेस र माओवादी केन्द्रको तालमेल नयाँ प्रयोग भएको भन्दै उनले भरतपुरमा यो गठबन्धनलाई अब झिनो मतले जित्ने छुट नभएको बताए । ‘यो कुनै संयोग होइन,’ उनले भने, ‘यो राष्ट्रको आवश्यकता र भरतपुर महानगरको आवश्यकता हो ।’
कांग्रेस–माओवादी सरकार बन्नुअघि मधेस–पहाडबीचको सम्बन्ध डरलाग्दो अवस्थामा पुगेको भन्दै उनले अहिलेको गठबन्धनले मधेस–पहाडलाई मिलाएर निर्वाचनमा जाने वातावरण बनाएको दाबी गरे । ‘अब तपाईँ आफैँ सोच्नुस््, यो निर्वाचनमा कसलाई विजयी गराउने ?’ मधेसलाई एकातिर, पहाड अर्कोतिर पारेर देशलाई विभाजनतिर लैजाने प्रवृत्तिलाई विजयी गराउने कि मधेस पहाडलाई जोडर संविधान कार्यान्वयनतिर अघि बढ्ने शक्तिलाई जिताउने ?’ उनले भने ।
१४ घन्टा लोडसेडिङ रहेको बेला बनेको गठबन्धन सरकारले लोडसेडिङ अन्त्य गरेको भन्दै उनले मतदाताहरूलाई प्रश्न गरे, ‘हामीले उज्यालोलाई जिताउने कि अध्यारोलाई ?’ अहिलेको सरकारकै पालामा देशको आर्थिक वृद्धिदरसमेत बढ्दै गएको प्रचण्डको भनाइ थियो ।
गठबन्धनका कारण कांग्रेस सभापति शेरबहादुर देउवा र आफूलाई पार्टी पंक्तिभित्रैबाट विभिन्न आरोप खेप्न परे पनि दुई दलबीचको सत्ता गठबन्धनले नै देशलाई समृद्धतर्फ अगाडि लैजान सक्ने प्रमाणित भएको उनले बताए । विपक्षी दलहरूबाट उम्मेदवारी दर्ता गर्दासम्म पनि चुनाव हुन्छ त भन्ने प्रश्न आइरहेको भन्दै अहिले चुनाव उत्सव बनेर आएको दाहालले बताए ।
स्थानीय तह निर्वाचनका लागि दुई दलको सहमतिमा कठोर निर्णय गरेको उनको भनाइ छ । ‘जसले गर्दा कांग्रेस सभापति देउवाजी र म दुवैजना आफ्नै पार्टीभित्रबाट आलोचित बन्नुप¥यो,’ उनले भने ।
दुई पार्टीबीचको यो निर्णयमा केही त्रुटि भएको स्वीकार गर्दै उनले भने, ‘दुई दलबीचको तालमेलको निर्णय मनोनयन दर्ता हुनुभन्दा पहिले नै हुनुपर्ने थियो । तर, आन्तरिक छलफलमा ढिलाइ भएकोले केही पार्टी कार्यकर्ताको मन दुखेको हामीले महसुस गरेका छौँ ।’
मेयरका उम्मेदवारबाट नाम फिर्ता लिइएका कांग्रेस नेता दिनेश कोइरालाको नाम लिँदै प्रधानमन्त्री दाहालले भने, ‘दिनेश कोइरालालाई भन्न चाहन्छु तपाईंलाई अलिकति नमिठो भयो होला । तर, दुई पार्टीको रणनीतिक साझेदारी र समग्र संविधान कार्यान्वयनका निम्ति तपाईंले गरेको त्यागलाई देश र जनताले मूल्यांकन गर्नेछ ।’
कोइरालाको लागि आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने उनले वचन दिए । ‘यो गठबन्धनलाई जिताउँदै गर्दा दिनेश कोइरालाको हाइट झनै बढ्छ,’ उनले भने । दुई पार्टीबीचको गठबन्धनबाट भरतपुर महानगरको मुहार फेरिने उनले दाबी गरे । ‘भरतपुर महानगरपालिका सम्भावनै सम्भावनाको खानी हो,’ उनले भने, ‘त्यसैले भरतपुर महानगरपालिका अब दक्षिण एसियाकै सबैभन्दा मह¤वपूर्ण नगर बन्ने छ ।’
प्रचण्डपुत्री भनेकोमा असन्तुष्टि
विभिन्न सञ्चारमाध्यममा लगातार प्रचण्डपुत्री भनेर समाचार प्रकाशन/प्रशारण गरेको भन्दै प्रधानमन्त्री दाहालले सञ्चार माध्यमहरूसमक्ष गुनासो पोखे । रेणु दाहाल आफ्नो छोरीमात्र नभएको भन्दै उनले भने, ‘रेणु दाहाल प्रचण्डपुत्री भनेको मलाई मिठो लागेको छैन । रेणु दाहाल, प्रचण्डपुत्री भएकै कारणमात्र उम्मेदवार भएकी होइनन् । उनी आफ्नै त्याग र योगदानका कारण यो स्थानमा आएकी हुन् ।’
माओवादी केन्द्रसँग दीर्घकालीन सहकार्य : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रसँग पुरानो सहकार्य भएकोले आगामी संसदीय चुनावपछि पनि दीर्घकालीन सहकार्य गरिने बताएका छन् ।
बिहीबार भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्डसँगै चितवन आएका पार्टी सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चाहना पनि कांग्रेससँग दीर्घकालीन सहकार्य गर्ने नै रहेको दाबी गरे ।
स्थानीय तह निर्वाचनमा मात्रै होइन, प्रान्तीय र संसदीय चुनावपछि पनि हामी संँगसँगै जान सक्छौँ,’ उनले भने, किनकि प्रचण्डजीको चाहना पनि यही छ ।’ बाह्रबुँदे समझदारी हुँदाताका ज्ञानेन्द्रले आफूलाई जेल पठाएको स्मरण गर्दै सभापति देउवाले भने, ‘गिरिजाबाबु र प्रचण्डजीको नेतृत्वमा भएको सहमतिपछि बनेको यो संविधान कार्यान्वयन गर्न जरुरी छ ।’ त्यसैले विगतका कुरा कोट्याउनुभन्दा पनि भोलिको सुनौलो भविष्य हेर्नुपर्ने उनको भनाइ छ ।
‘पहाड र मधेसको विषयमा छुट्टाछुट्टै कुरा गरिरहने हो भने देश बन्दैन, उनले भने, ‘आपसमा मिलेर बसेका नेपाली जनतालाई झगडा गर्ने षड्यन्त्र भइरहेको छ ।’ त्यसैले यस्तो षड्यन्त्रबाट सतर्क रहन उनले आग्रह गरे ।
कांग्रेस र माओवादी गठबन्धनबाट भरतपुरको मेयर तथा उपमेयर पदमा संयुक्त उम्मेदवार रेणु दाहाल र पार्वती शाहलाई उठाएको भन्दै यो स्थानीय निर्वाचनमा दुईवटै पद महिलालाई दिएको बताए । महिला नेतृत्वले महानगर हाँक्न सक्ने÷नसक्ने विषयमा परीक्षाका लागि पनि दुवै पदमा महिला उम्मेदवार बनाइएको उनले बताए ।
प्रधानमन्त्रीसहित दुईदलका शीर्ष नेताहरू भरतपुर आउने भएपछि केन्द्रीय बस टर्मिनलअगाडिको खाली मैदान पूरै कार्यकर्ताले भरिएको थियो । दुईदलको गठबन्धनका कारण कार्यकर्ता पनि कांग्रेस र माओवादीको झण्डासहित आ–आफ्नो पार्टीको टि–सर्ट लगाएर कार्यक्रममा उपस्थित भएका थिए । केन्द्रीय नेताहरू चितवन आएर सम्बोधन गरेपछि दुई पार्टीका उम्मेदवार तथा कार्यकर्तामा थप उत्साह छाएको छ ।

The post कांग्रेस र माओवादी केन्द्रको तालमेल नयाँ प्रयोग : प्रचण्ड appeared first on चितवन पोष्ट.