शीर्ष नेताले भने, ‘मैले जित्छु, अरु हार्छन्’

भरतपुर । चितवनमा यसपटकको प्रतिनिधिसभा निर्वाचनमा हेभिवेट उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गर्ने क्रममा उनीहरुले पत्रकारहरुसँग आफूले नै जित्ने दाबी गरे ।
क्षेत्र नम्बर ३ बाट उम्मेदवार दर्ता गरेका नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनका जनताले आफूलाई जिताउने दाबी गरे । उनले भने, ‘११ वर्षपछि म आफ्नो गृहजिल्ला आएको छ, मलाई यहाँको जनताले जिताउँछन् । हराए भने पनि म स्वीकार गर्छु ।’ उनले ७० वर्षदेखि चल्दै आएको अस्थिर सरकारको इतिहास वाम गठबन्धनले तोड्ने दाबी गरेका थिए । उनले पत्रकारहरुसँग वाम गठबन्धन देशमा आवश्यक भएको र अबको ५ वर्षको सरकार वाम गठबन्धनले चलाउने बताए ।
मनोनयन दर्तापछि वाम गठबन्धनले जिल्ला प्रहरी कार्यालयअगाडिको चौरमा चुनावी सभा गरेको थियो । सभामा प्रचण्डले वाम गठबन्धनले देशमा स्थिरता ल्याउने र कोही आत्तिन नपर्ने बताए । आफूलाई गृहजिल्ला आउन ११ वर्ष लागेको भन्दै उनले भने, ‘मलाई अरु थुप्रै जिल्लाले बोलाएका थिए, तर म आफ्नै गृहजिल्लाको मायाले डोहो¥याएर ल्यायो ।’
क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डेले पत्रकारहरुसँग चितवन ३ का जनताको मायाका कारण पुनः उम्मेदवारी दिएको र आफूलाई जिताउने दाबी गरे । ‘जनताको सुखदुःखमा साथ दिने नेता नै जनताले रोज्छन् । यहाँको माटोसँग म भिजेको छु, बच्चादेखि वृद्धसम्मले मलाई खोजेको छन् त्यसैले मेरो विजयी सुनिश्चित छ ।’
पाण्डेले २० वर्षदेखि चितवन ३ का जनतालाई साथ दिएका कारण जनताले आफूलाई रोज्ने बताए । पाण्डेले भने, ‘पाण्डेले आफ्नो चुनाव जित्ने आधार विकास निर्माण भएको बताए । चितवन ३ मा धेरै विकास निर्माणका काम आफूले गरेको र पाइपलाइनमा रहेका विकास निर्माण पूरा गर्न पनि आफ्नो जित आवश्यक छ ।’
वाम गठबन्धनबाटै चितवन क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गरेका नेकपा एमालेका नेता एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आफू पूर्वअर्थमन्त्री र दाहाल पूर्वप्रधानमन्त्री भएको भन्दै उनले चितवनको विकासकोे जिम्मेवारी दुईभाइको काँधमा आएको बताए । वाम गठबन्धनको दुई तिहाइ आउने दाबी गर्दै उनले भने, ‘अब बन्ने सरकार अस्थिर हुँदैन, स्थिरको बन्छ ।’ उनले भने, ‘मलाई क्षेत्र नम्बर १ का जनताले भारी मतले जिताउँछन् ।’

The post शीर्ष नेताले भने, ‘मैले जित्छु, अरु हार्छन्’ appeared first on चितवन पोष्ट.