कालीगण्डकी करिडोरको कन्तबिजोग ट्रयाक खुलेको दुई दशकमा पनि सडक बनेन

–तुलमान गुरूङ
ढोडेनी (नवलपुर) । कालीगण्डकी करिडोरअन्तर्गत नवलपुर जिल्लाको गैँडाकोटदेखि पाल्पा रामपुर हुँदै मुक्तिनाथसम्म जोड्ने सडक राष्ट्रिय योजनाको सडक हो । तर, सडक ट्रयाक खोलेको दुई दशकभन्दा लामो समय भइसक्दा पनि यो सडक प्रयोग गरेर हिड्ने सर्वसाधारणले भने अझै पनि सहज र सर्वसुलभरूपमा यात्रा गर्न पाएका छैनन् । नेपाल सरकारले कालीगण्डकी करिडोर भनेर घोषणा गरेर जनतालाई भ्रम छर्ने मात्रै काम गर्दा यो सडकको अवस्था अझै पनि दयनीय छ ।
स्थानीय भन्छन्, ‘यो बाटोमा जिप गुड्न थालेको मात्रै पनि २० वर्षभन्दा बढी भइसक्यो । तैपनि यो सडकको स्तरोन्नति हुन सकेन ।’ नेपालकै सबैभन्दा लामो पूर्वपश्चिम राजमार्गले छोएको जिल्लाको मुख्य ग्रामीण सडक मध्ये यो सडक पनि एक हो । तर, सडकको स्थितिमा सुधार नआउँदा यो सडकबाट हिड्ने यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
गैँडाकोट नगरपालिका वडा नं.३ का स्थानीय ओमसारू मगर भन्छन्, ‘राज्यले हामीलाई हेला ग¥यो ।’ स्थानीय कृष्ण गण्डकी माविका अध्यक्षसमेत रहेका मगरका अनुसार सडक निर्माणको लागि वन मन्त्रालय अवरोध बनेका कारण यो सडकको स्तरोन्नति हुन नसकेको हो । ‘किनकी यो सडकअन्तर्गत आधा दर्जनभन्दा बढी सामुदायिक वन पर्दछ,’ उनले भने ।
साघँुरो सडक, जंगलको बाटो अनि खाल्डाखुल्डी उस्तै । ग्राभेलसम्म भएको छैन यो बाटोमा । त्यसैले यो सडकमा सार्वजनिक सवारी साधनको रूपमा फोरह्विल जीप बाहेक अन्य सवारी साधन चल्न सक्दैन । यहाँका स्थानीयलाई १५ किलोमिटर बाटो हिँड्नका लागि पनि १३० रूपैयाँ भाडा तिर्नुपर्छ त्यो पनि जोखिम मोलेर । गैँडाकोट–३ कै गडाम्दीका स्थानीय महावीर पुलामी मगर भन्छन्, ‘नेपालको राजनीतिक अस्थिरताले सडक योजना अलपत्रमा प¥यो ।’
यस क्षेत्रबाट पटक–पटक नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले चुनाव जिते पनि गाउँको विकासका लागि केही गर्न नसकेको उनले गुनासो गरे । ‘विकास त के कुरा भोट माग्दा नमस्कार गर्दै आउनुभयो । तर, जितेपछि फर्केर पनि आउनुभएन,’ उनले भने । यस विषयमा जिल्लास्तरका नेताहरूले पनि चासो नदिएकोले बाटो बन्न नसकेको स्थानीयको बुझाइ छ ।
‘हरेक वर्ष सडकको लागि बजेट आएको कुरा सुनिए पनि सडकमा ग्राभेलसम्म हालेको छैन,’ जनता प्रावि गडाम्दीका प्रधानाध्यापक गोकुलप्रसाद सिलवालले भने, ‘यसमा स्थानीय दलको पनि दोष छ ।’
तनहुँ घर भई विगत केही वर्षदेखि गैँडाकोटको ढोडेनी बस्दै आएका विष्णु थापामगर यही रूटमा जिप चलाउँछन् । उनी आफूले थाहा पाएदेखि नै यो बाटो हालसम्म उस्तै रहेको उनले बताए । ढोडेनीदेखि गैँडाकोटसम्म जम्मा साँढे ९ किलोमिटर छ । तर, भाडा भने १०० रूपैयाँ छ । ‘बाटोकै कारण महँगो भाडा लिए पनि सोचेजस्तो फाइदा छैन,’ उनी भन्छन्, ‘हरेक दिन गाडीको चेकजाँच गर्नुपर्छ ।’ तैपनि हरेक दिन क्षमताभन्दा बढी यात्रु बोकेर हिँड्न उनी पनि बाध्य छन् ।
तर, अब भने सडक बन्छ कि भन्नेमा उनी आशावादी छन् । किनकी २० वर्षपछि स्थानीय सरकार आइसकेकोले अब भने विकास हुनेमा आफू आशावादी रहेको उनले बताए । ‘बाटो राम्रो भए सबैलाई सजिलो हुन्थ्यो,’ उनले भने, ‘अहिले १०० रूपैयाँ तिरेर यात्रा गर्न बाध्य यात्रुहरू पनि २०÷२५ रूपैयाँ भाडा तिरेरै यात्रा गर्न पाइन्थ्यो ।’
तर, स्थानीय सरकारले भने यो सडक राष्ट्रिय योजनाअन्तर्गतको सडक भएकोले स्थानीय सरकारलाई काम गर्ने अधिकार नभएको बताएको छ । गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले भने, ‘यो सडक राष्ट्रियस्तरको सडक भएकोले यसलाई केन्द्रीयस्तरबाटै बजेट पारित गरेर काम गर्नुपर्छ । त्यसैले यो सडकको काम गर्नका लागि हाम्रो मातहतमा पर्दैन ।’ तैपनि बुलिङटार गाउँपालिकाका प्रमुखसँग यस विषयमा छलफल भइरहेको उनले बताए । ‘हामी दुई स्थानीय तहका प्रमुखहरूको बीचमा यस विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘हामी जतिसक्दो चाँडो काम गर्नका लागि सरकारलाई दबाब दिन्छौँ । त्यसो त यो सडक निर्माणको लागि सडक डिभिजन कार्यालय पनि स्थापना गरिसकेकोले अब छिट्टै काम सुरू हुँदैछ । तर, यतिका समयसम्म राज्यस्तरबाट ध्यान नपुग्नु भनेको दुःखद कुरा हो ।’ गैँडाकोट नगरपालिकाको वडा नं. ४ देखि सुरू भएको सडक वडा नं. ३ र वडा नं. १८ हुँदै बुलिङटार गाउँपालिकासँग जोडिएको छ । नगरप्रमुख पौडेलका अनुसार मुक्तिनाथसम्म जोडिएको यो सडकको करिब ७० किलोमिटर दूरी नवलपुर क्षेत्रमा मात्रै पर्छ ।

The post कालीगण्डकी करिडोरको कन्तबिजोग ट्रयाक खुलेको दुई दशकमा पनि सडक बनेन appeared first on चितवन पोष्ट.