नवलपुरका ४ वटा प्रदेश सभामा कसले मार्दै छ बाजी

नवलपुरका ४ वटा प्रदेश सभामा कसले मार्दै छ बाजी

–रामकुमार श्रेष्ठ
नवलपुर । नवलपुर अर्थात बर्दघाट सुस्तापूर्व नवलपरासी जिल्लामा ४ वटा प्रदेशसभाको निर्वाचन क्षेत्र रहेको छ । यहाँ ठूला तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट जिल्ला अध्यक्षदेखि पोलिटव्यूरो सदस्यसम्म चुनावी मैदानमा उत्रिएका छन् ।
नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको आकांक्षी मानिएका पूर्वसांसद महेन्द्रध्वज जिसी, केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, जिल्ला सभापति विष्णु लामिछानेसमेत प्रदेशसभाबाट उम्मेदवार बनेका छन् ।
त्यस्तै माओवादी केन्द्रबाट प्रतिनिधिसभाका उम्मेदवारको आकांक्षी मानिएका पोलिटव्यूरो सदस्य किसान शर्मा गैरे, नेकपा एमाले नवलपुरका अध्यक्ष एवम् पूर्वसभासद् रोशनबहादुर गाहा प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । विष्णु लामिछाने, किसान शर्मा गैर निर्वाचनका लागि नयाँ अनुहार हुन् ।
यहाँ प्रदेशसभा सदस्यको ४ सिटका लागि ४२ जना चुनावी मैदानमा छन् । यहाँ नेपाली कांगे्रस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नयाँ शक्ति पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा प्रजातान्त्रिक, मंगल नेशनल अर्गनाइजेशन, राष्टिय जनमोर्चा नेपाल, रााष्टिय जनमुक्त पार्टी, विवेकशील साझा पार्टी, शिवसेना पार्टी, जनसमाजपार्टी नेपाललगायत १३ दलले उम्मेदवारी दिएका छन् ।
नवलपुरमा राप्रपा प्रजातान्त्रिकले उम्मेदवारी फिर्ता लिएको घोषणा गरी नेपाली कांग्रेसलाई समर्थन गर्ने सम्भावना देखिएको छ । यहाँ नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
पहिलोपटक निर्वाचनमा होमिएको नयाँ शक्ति नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा र विवेकशील साझा पार्टीहरुको मत पनि ठूला गठबन्धनका लागि चुनौती बन्ने देखिएको छ ।
स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारहरुलाई खसेको मतलाई आधार मान्ने हो भने प्रतिनिधिसभामा दुवैतर्फ वाम गठबन्धन अगाडि देखिएको छ भने प्रदेशसभामा १ (१) र २ (१) मा वाम गठबन्धन, १ (२) र २ (२) मा नेपाली कांग्रेस अगाडि देखिएको छ ।
नवलपुर (बर्दघाट सुस्ता पूर्व नवलपरासी) प्रदेशसभा १ (१): 
२६ हजार ५ सय २१ जना पुरुष र २९ हजार ९ सय ९८ महिला गरी ५६ हजार ५ सय १९ जना मतदाता रहेको नवलपुरको प्रदेशसभा क्षेत्र नंं. १(१) मा १० वटा राजनीतिक दलका १० जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् ।
दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने निर्वाचनमा प्रदेश ४ को प्रदेशसभा सदस्यका लागि यहाँबाट नेपाली कांग्रेस, वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्र, नयाँ शक्ति पार्टी नेपाल, विवेकशील साझा पार्टी, राष्टिय जनमोर्चा, राप्रपा, राप्रपा (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम नेपाल, राष्टिय जनमुक्ति पार्टी र मंगोल नेशनल अर्गनाइजेशन गरी १० वटा पार्टीले आफ्नो उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको क्षेत्र मानिने यहाँ नेपाली कांग्रेस र वाम गठबन्धनबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
यहाँ नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली र वाम गठबन्धनबाट उम्मेदवारी दिएको नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक सूर्य न्यौपानेबीच कडा प्रतिस्प्रर्धा हुने देखिएको छ ।
कृष्णचन्द्र नेपाली यसअघिका दोस्रो संविधानसभा निर्वाचनमा नवलपरासी निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका थिए । उनलाई नेकपा एमालेका कृष्ण पौडेलले पराजित गरेका थिए । सूर्य न्यौपानेको लागि पनि निर्वाचनको पहिलो अनुभव हो ।
सूर्य न्यौपानेका लागि एमालेका कतिपय असन्तुष्टि पक्षधरहरुले मतदान नगरे खतरा रहने देखिन्छ ।
नवलपुर प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (१) मा गैँडाकोट नगरपालिका पूरै, देवचुली नगरपालिकाको वडा नं ४, १६ र १७ पर्दछ भने बुलिंगटारको वडा नं. १ र २ पनि यसै निर्वाचन क्षेत्रमा पर्दछ । स्थानीय तहमा खसेको मतलाई आधार मान्दा वाम गठबन्धन र कांग्रेसबीच यहाँ निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
अन्य ८ दलमा कुन तेस्रो शक्ति बन्ने भन्ने प्रतिस्पर्धा देखिन्छ, तथापि यी आठ दलले पाउने मतले नै काँग्रेस र वाम गठबन्धनका उम्मेदवारमध्ये कसले जीत हात पार्ला भन्ने निर्धारण गर्ने देखिन्छ । त्यसैले वाम गठबन्धन र नेपाली कांग्रेस समानुपातिक भोट अन्यन्त्र दिने सर्तमा अन्य दलका उम्मेदवारी फिर्ता गराउने कसरतमा समेत लागेको देखिन्छ । राप्रपा प्रजातान्त्रिक र नेपाली कांग्रेसबीच यो विषयमा छलफल चलिरहेको राप्रपा प्रजातान्त्रिकले जनाएको छ ।
यहाँ प्रतिनिधिसभामा देशभक्त जनगणतान्त्रिक मोर्चाले उम्मेदवारी दिए पनि प्रदेशसभा १ (१) मा उम्मेदवारी नदिएका कारण त्यो पार्टीको मतसमेत माओवादी केन्द्रलाई आउनेमा माओवादी केन्द्र आशावादी देखिएको छ ।
स्थानीय तहको मत परिणामलाई हेर्ने हो भने यहाँ वाम गठबन्धन नेपाली कांग्रेसको लागि चुनौती देखिएको छ । यहाँ स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुलाई खसेको मतलाई हेर्दा नेपाली काँग्रेसको १४ हजार २ सय ११, एमालेको १२ हजार ३ सय ९३ र माओवादी केन्द्रको ३ हजार ६ सय ८६ मत गरी वामगठबन्धनको १६ हजार ७९ मत आएको देखिन्छ । स्थानीय तहको निर्वाचनको मत हेर्दा यहां कांग्रेस भन्दा वाम गठबन्धन १ हजार ८ सय ७८ मतले अगाडि रहेको देखिन्छ ।
गँैडाकोट नगरपालिकामा वडाध्यक्षहरुले पाएको मतलाई आधार मान्दा नेपाली काँग्रेसको १० हजार ६ सय २० मत रहेको छ भने नेकपा एमालेको ९ हजार ९ सय ४ मत र माओवादी केन्द्रको २ हजार २ सय ७० मत रहेको छ । गैँडाकोट नगरपालिकामा भने नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनभन्दा नेपाली काँग्रेस १ हजार ५ सय ५४ मतले पछाडि देखिएका छन् ।
देवचुली नगरपालिकाका ३ वटा वडामा पनि वाम गठबन्धन अगाडि देखिएको छ । देवचुली नगरपालिकाका वडा नं ४ मा एमाले, १६ मा माओवादी केन्द्र र १७ मा एमालेले वडाध्यक्ष जितेको थियो ।
यहाँ नेपाली कांग्रेसको २ हजार ११, एमालेको १ हजार ९ सय र माओवादी केन्द्रको १ हाजर ४ सय १६ मत आएको देखिन्छ ।
बुलिंगटार गाउँपालिका वडा नं. १ र २ मा भने काँग्रेस अगाडि रहेको छ । यहां दुवै वडा काँग्रेसले जितेको हो । यहाँ दुई वटा वडामा कांग्रेसको १ हजार ५ सय ८० र एमालेको ५ सय ८९ मत खसेको देखिन्छ ।
विवेकशील साझा पार्टीमा केही युवाहरुको आकर्षण देखिएकोले यसले युवा मतदाताहरुको भोट काट्दा कुन पार्टीको मत काट्छ भन्ने आँकलन गर्न सकिँदैन । नयाँ शक्ति पार्टी नेपाल शरदमणि खरेल, विवेकशील साझा पार्टी भीमप्रसाद आचार्य, राष्टिय जनमोर्चा चन्द्रदत्त सापकोटा, राप्रपाबाट टेकदत्त हरि पौडेल, राप्रपा (प्रजातान्त्रिक) बाट सन्तोष थापा, संघीय समाजवादी फोरम नेपालबाट धनबहादुर गुरुङ, राष्टिय जनमुक्ति पार्टीबाट मनबहादुर लुंगेली र मंगोल नेशनल अर्गनाइजेशनबाट रुमबहादुर मगर चुनावी मैदानमा रहेको छ ।

नवलपुर (बर्दघाट सुस्ता पूर्व नवलपरासी) प्रदेश सभा १ (२)
नेपाली काँग्रेस र नेकपा एमालेका जिल्लाका हस्तीहरु प्रतिस्पर्धामा रहेको यस निर्वाचन क्षेत्र पनि चर्चामा रहेको छ । जसले जिते पनि कम्तीमा प्रदेश सरकारमा मन्त्री बन्न सक्ने हैसियत राखेका पूर्वसांसद एवम् नेपाली काँग्रेसका उम्मेदवार महेन्द्रध्वज जिसी र पूर्वसांसद एवम् नेकपा एमाले नवलपुरका अध्यक्ष रोशनबहादुर गाहाबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
स्थानीय तहको मतलाई आधार मान्दा वाम गठबन्धनलाई प्रदेशसभा १ (१) मा जित निकाल्न सहज भए पनि प्रदेशसभा १ (२) मा जित निकाल्न उत्तिकै जटिल हुने देखिएको छ ।
यहाँ नेपाली कांग्रेसभन्दा वाम गठबन्धन २ हजार ४ सय ७२ मतले पछाडि देखिएको छ । यहाँ एमालेको १४ हजार १ सय ९३ र माओवादी केन्द्रको १ हजार २ सय गरी वाम गठबन्धनको १५ हजार ३ सय ९३ र नेपाली काँग्रेसको १७ हजार ८ सय ६५ मत झरेको देखिन्छ ।
नवलपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (२) मा पनि १० वटा दलका १० जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् ।
गाहा पहिलो संविधानसभामा समानुपातिकतर्फका सभासद् हुने भने जिसी पहिलो संविधानसभाकै निर्वाचित सभासद् हुन् । जिसी दोस्रो संविधानसभाको निर्वाचनमा नवलपरासी निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमाले नवलपरासीका सचिव जीवन श्रेष्ठसँग पराजित भएका थिए ।
जिसीसँग पटकपटकको निर्वाचनको अनुभव छ भने गाहाको लागि यो निर्वाचनको पहिलो अनुभव हो तथापी स्थानीय निकायको निर्वाचनमा गाहा उनी शिवमन्दिर गाविसबाट दुईपटक निर्वाचित भई दुई कार्यकाल गाविस अध्यक्ष भएका हुन् ।
बुलिंगटार गाउंपालिकाको ३, ४, ५ र ६ नं वडा, कावासोती नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा र देवचुली नगरपालिकाको १, २, ३, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४ र १५ नम्बर वडा समेटिएको यस निर्वाचन क्षेत्रमा २६ हजार ६ सय ३० जना पुरुष, ३० हजार ७ सय ९७ महिला र १ जना तेस्रो लिंगी गरी ५७ हजार ७ सय ९७ जना मतदाता रहेका छन् ।
स्थानीय तहको वडाध्यक्षहरुका उम्मेदवारहरुलाई खसेको मत हेर्दा कावासोती नगरपालिकाको ११ वटा वडामा मात्र वाम गठबन्धन केही मतले अगाडि देखिन्छ । यहां ३ सय ४८ मतले नेपाली काँग्रेसको मत वामगठबन्धनको भन्दा कम देखिएको छ । कावासोती नगरपालिकाको ११ वटा वडा प्रदेशसभा १ (२) मा समेटिएको छ । ती ११ वटा वडामा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतलाई आधार मान्दा नेपाली काँग्रेसको ७ हजार ५ सय ६८ मत रहेको छ भने नेकपा एमालेको ७ हजार ३ सय २४ र नेकपा माओवादी केन्द्रको ५ सय ९२ मत रहेको छ ।
त्यस्तै प्रदेशसभा १ (२) मा रहेको बुलिंगटार गाउंपालिकाको ४ वटा वडामा नेपाली कांग्रेस वाम गठबन्धनभन्दा निक्कै मतअन्तरले अगाडि रहेको देखिन्छ । यहाँ नेपाली काँग्रेसको १ हजार ५ सय ८० र वाम गठबन्धनको ५ सय ९७ मत रहेको देखिन्छ ।
त्यस्तै देवचुली नगरपालिकाको १४ वटा वडा पर्ने यस क्षेत्रमा देवचुलीभित्र यहाँ स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले ८ हजार ७ सय १७, नेकपा एमालेले ६ हजार २ सय ८० र नेकपा माओवादी केन्द्रले ६०० मत प्राप्त गरेका थिए । देवचुली नगरपालिकाका यहां रहेका १४ वडामा पनि नेपाली काँग्रेसको अग्रता देखिएको छ ।
यहाँ देशभक्त जनगणतान्त्रिक मोर्चाबाट मणि न्यौपाने, नयाँ शक्ति पार्टीबाट प्रदेश ४ का सदस्य रुद्र गुरुङ, विवेकशील साझा पार्टीबाट रामप्रसाद चापागाईं, राष्ट्रिय जनमुक्तिबाट पदमाया गाहा मगरलगायत १० जना चुनवाी मैदानमा छन् ।

नवलपुर (बर्दघाट सुस्तापूर्व नवलपरासी) प्रदेश सभा २ (१)
वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य किसान शर्मा गैरे र नेपाली काँग्रेस नवलपरासीका जिल्ला सभापति विष्णु लामिछाने दुई पार्टीका जिल्ला तहका हस्ती हुन् । यी दुईबीच नै नवलपुर (बर्दघाट सुस्तापूर्व नवलपरासी) प्रदेश सभा २ (१) को निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ ९ दलका ९ जना र २ जना स्वतन्त्र गरी ११ जना चुनावी मैदानमा छन् ।
यी दुवै प्रतिनिधिसभा सदस्यका आकांक्षी हुन् तथापि प्रदेशसभामा झरेर निर्वाचनमा होमिएका छन् ।
यहाँ नयाँ शक्ति पार्टीबाट भोजबहादुर चौधरी, संघीय समाजवादी फोरम नेपालबाट बुद्धिलाल राना मगर, राष्ट्रिय जनमुक्तिबाट तिलबहादुर झेडी मगर, जनसमाजवादी पार्टीबाट विष्णुप्रसाद बोटे, राष्ट्रिय जनमोर्चाबाट गीरबहादुर महतरा, राप्रपाबाट धनश्याम अधिकारी र राप्रपा प्रजातान्त्रिकबाट नुनबहादुर आले चुनावी मैदानमा छन् ।
२५ हजार, २ सय ८२ जना पुरुष, २८ हजार ८ सय ९ जना महिला र एक जना तेस्रो लिंगी गरी ५४ हजार ९२ जना मतदाता रहेको यस निर्वाचन क्षेत्रमा वामगठबन्धन र कांग्रेसका उम्मेदवार दुवैलाई एकले अर्कालाई पछाडि पार्दै निर्वाचन जित्न रस्साकस्सी गर्नुपर्ने देखिन्छ ।
यहाँ कावासोती नगरपालिकाका ३, ४, १४, १५, १६, र १७ नम्बर वडा मध्यविन्दु नगरपालिकाको १, २ र ३ नम्बर वडा, बुंदीकाली गाउंपालिका र हुप्सेकोट गाउँपालिका रहेका छन् ।
स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारहरुलाई खसेको मतलाई आधार मान्ने हो भने नवलपुर प्रदेशसभा २ (१) मा वाम गठबन्धन नेपाली काँग्रेसभन्दा २ हजार ६ सय ५२ मतले अगाडि देखिन्छ ।
एमालेको १४ हजार ८ सय २९ र माओवादी केन्द्रको २ हजार ४ सय ७ मत गरी १७ हजार २ सय ३७ मत रहेको देखिन्छ भने नेपाली काँग्रेसको १४ हजार ५ सय ८४ मत देखिन्छ ।
कावासोती नगरपालिका ३, ४, १४, १५, १६ र १७ नम्बर वडा गरी ६ वटा वडामा नेपाली काँग्रेसले ४ हजार ९ सय ६०, एमालेले ५ हजार ६ सय ४८ र माओवादी केन्द्रले १ हजार ४ सय ७९ मत पाएको देखिन्छ । त्यस्तै बुंदीकालीमा नेपाली काँग्रेसले ३ हजार १ सय ४४ र एमालेले ३ हजार ९० मत पाएको देखिन्छ ।
त्यस्तै हुप्सेकोटमा नेपाली काँग्रेसले ४ हजार ३ सय ८७, एमालेले ४ हजार २ सय ३७ र माओवादी केन्द्रले ६ सय ९९ मत पाएको थियो ।
त्यस्तै नवलपुरको प्रदेशसभा २ (१) मा पर्ने मध्यविन्दु नगरपालिका भित्र रहेका ३ वटा वडामा नेपाली कांग्रेसले २ हजार ९३, एमालेले १ हजार ८ सय ५४ र माओवादी केन्द्रले २ सय २९ मत प्राप्त गरेको देखिन्छ ।
यहाँ कावासोती नगरपालिका वाम गठबन्धनको पकड क्षेत्र मानिन्छ भनेर हुप्सेकोट र बुंदीकाली गाउँपालिका कांग्रेसको पडक क्षेत्र मानिन्छ ।

नवलपुर (बर्दघाट सुस्तापूर्व नवलपरासी) प्रदेशसभा २ (२)
नवलपरासीमा अघिल्लो स्थानीय चुनाव र दोस्रो संविधानसभाको निर्वाचनमा केही मत जातीयताको आधारमा पनि तलमाथि भएकोले नवलपुर (बर्दघाट सुस्तापूर्व नवलपरासी) प्रदेशसभा २ (२) मा मुख्य प्रतिस्पर्धी मानिने नेपाली कांग्रेस र वाम गठबन्धनले दुवै नेवार समुदायबाट उम्मेदवार बनाएको छ ।
नेवार समुदायको वाक्लो बस्ती रहेको र यहाँ गुठीमा रहेका नेवार समुदायले जित्ने सक्ने पार्टीका नेवार समुदायका उम्मेदवारलाई मत हाल्न सक्ने भएकोले उक्त मत विभाजित गर्नका लागि पनि दुई ठूला दलले नवलपुर जिल्लाको प्रदेशसभा २(२) मा यस्तो गरेको देखिन्छ ।
यहाँ नेकपा एमालेले जनकलाल श्रेष्ठलाई सर्वसम्मतबाट टिकट दिने निर्णय गरेपछि नेपाली काँग्रेसले उम्मेदवारी दिने अन्तिम समयमा आएर गणेशमान श्रेष्ठलाई उम्मेदवार बनाएको हो । जनकलाल र गणेशमान दुवैका लागि निर्वाचन भने पहिलो अनुभव हो ।
जनकलाल श्रेष्ठ अरुणखोला निवासी हुन् भने गणेशमान श्रेष्ठ दुम्किबास निवासी, विनयी त्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाको वडा नं. ४ देखि १५ नम्बरसम्मका वडाहरु रहेको यस निर्वाचन क्षेत्रमा २८ हजार ७ सय ४४ जना महिला, २४ हजार ९ सय ३० जना पुरुष र १ जना तेस्रो लिंगी गरी ५३ हजार ७ सय ७५ जना मतदाता रहेका छन् ।
स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारहरुलाई खसेको मतलाई आधार मान्ने हो भने नेपाली कांग्रेस र वाम गठबन्धनबीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
यहाँ वाम गठबन्धनभन्दा नेपाली काँग्रेस १ सय ८६ मतले मात्र अगाडि देखिन्छ । यहाँ एमालेलाई १३ हजार ६ सय ९ र माओवादी केन्द्रलाई २ हजार एक सय ८५ गरी १५ हजार ७ सय ९४ मत र नेपाली काँग्रेसलाई १५ हजार ९ सय ८० मत खसेको देखिन्छ ।
विनयी त्रिवेणीमा नेपाली काँग्रेसले ६ हजार ८ सय ६५, एमालेले ५ हजार ४ सय ६९ र माओवादीले ५ सय ३९ मत पाएको देखिन्छ । मध्यविन्दु नगरपालिकामा नेपाली काँग्रेसले ९ हजार १ सय १५, नेकपा एमालेले ८ हजार १ सय ३९ र माओवादी केन्द्रले १ हजार ६ सय ४६ मत पाएको थियो । यहाँ ९ दलका नौ जना र २ जना स्वतन्त्र गरी ११ जनाले उम्मेदवारी दिएका छन् ।
यहाँ देशभक्त जनगणतान्त्रिक मोर्चाबाट श्याम कुमाल, नयाँ शक्ति पार्टी नेपालबाट लोकबहादुर केसी, राष्टिय जनमुक्ति पार्टीबाट मोहनसिं थापा, राष्टिय जनमोर्चाबाट टेकप्रसाद पोख्रेल, शिवसेना नेपालबाट अन्जना डल्लाकोटी, राप्रपाबाट कृष्णबहादुर दर्जी, राप्रपा प्रजातान्त्रिकबाट अर्जुनकुमार भुसाल चुनावी मैदानमा उत्रिएका छन् ।

The post नवलपुरका ४ वटा प्रदेश सभामा कसले मार्दै छ बाजी appeared first on चितवन पोष्ट.