राप्रपाको प्रत्यक्षतर्फको उम्मेदवारी फिर्ता

रामकुमार श्रेष्ठ
नवलपुर । कमल थापा नेतृत्वको राप्रपाले नवलपरासीको बर्दघाट सुस्ता पूर्व नवलपुरमा नेपाली कांग्रेसलाई सघाउने भएको छ ।
उसले आइतबार कावासोतीमा रहेको बीपी स्मृति भवनमा कांग्रेस र राप्रपाले संयुक्तरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जनाएको हो । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला, समानुपातिकतर्फका उम्मेदवार एवम् उद्योगपति विनोद चौधरी, प्रदेशसभाका नेपाली कांग्रेसका प्रत्यक्षतर्फका उम्मेदवार महेन्द्रध्वज जिसीलगायतको सहभागिता रहेको थियो । त्यस्तै राप्रपाका तर्फबाट केन्द्रीय सदस्य छत्रराज बगालेलगायत जिल्ला स्तरका नेताहरुको सहभागिता रहेको थियो ।
राप्रपाले नवलपुरमा प्रतिनिधिसभामा यस उम्मेदवारी दिएका थिएनन् भने प्रदेशसभामा नवलपुर जिल्लामा रहेका चार क्षेत्रमा उम्मेदवारी दिएका थिए । उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री डा कोइरालाले यो तालमेलले वाम गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेसलाई जिताउन सहज भएको बताए ।
स्थानीय तहको मत परिणाम हेर्दा वाम गठबन्धनभन्दा केही मतले पछाडि देखिएका डा कोइरालालाई राप्रपाको समर्थनपछि जितको लागि केही सहज हुने देखिएको छ । कोइरालालाई राप्रपा प्रजातान्त्रिकले समेत समर्थन गरेको जनाएको छ ।

 

The post राप्रपाको प्रत्यक्षतर्फको उम्मेदवारी फिर्ता appeared first on चितवन पोष्ट.