आलोचनाबाट विचलित नहुनु : प्रधानन्यायधीश 

दिपेन्द्र अधिकारी
भरतपुर । प्रधानन्यायाधीश गोपाल पराजुलीले न्याय सम्पादनमा कसैको आलोचनाबाट विचलित नहुन न्यायाधीशहरुलाई आग्रह गरेका छन् ।
फैसला वा आदेश चित्त नबुझेर आलोचना गर्ने धेरै हुने भन्दै प्रधानन्यायाधीश पराजुलीले भने, ‘आलोचनाबाट कत्ति पनि विचलित नभई आत्मविश्वासका साथ काम गर्नुस् ।’ आफू पनि प्रधानन्यायाधीश भएकै दिनबाट विभिन्न हिसाबले आलोचित हुने गरेको उनले बताए ।
आफू सधै प्रतिकुलतामा काम गर्दा रमाउने व्यक्ति रहेको भन्दै उनले आलोचनाबाट नभाग्न आग्रह गरेका हुन् । चितवन जिल्ला अदालतले सोमबार अदालत परिसरमा गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश पराजुलीले समय अनुसार ऐन कानुनहरु पनि फेरबदल हुँदै जाने भएकाले यी विषयमा सधै जानकार भइरहनु न्यायाधीश र कानुन व्यवसायीलाई निर्देशन दिए ।
‘पुराना मुद्दा छिटो छिन’
प्रधानन्यायाधीश पराजुलीले चितवन अदालतमा केही वर्ष पूरानो फौजदारी मुद्दाहरु रहेको भन्दै त्यस्ता मुद्दालाई अब छिट्टै किनारा लगाउन निर्देशन दिएका छन् । चितवन अदालमा गोरखा फुजेलका कृष्ण अधिकारी हत्या सम्बन्धी मुद्दा हाल १७ औं पटक पेसीमा रहेको छ । यो मुद्दाको लिखित बहस नोट पेस भए पनि विविध कारणले फैसला हुन सकेको छैन । यस मुद्दालाई राजनीतिक विषय जोडिने गरिएको छ । प्रधानन्यायाधीशको निर्देशनपछि यस मुद्दाले छिट्टै किनारा पाउने अधिकारकर्मीहरु बताउँछन् ।
नयाँ भवन बन्ने
प्रधानन्यायाधीश पराजुलीले चितवन अदालतमा नयाँ भवन आवश्यक रहेको भन्दै यसका लागि आवश्यक गृहकार्य गर्न जिल्ला अदातलका न्यायाधीश र कर्मचारीलाई निर्देशन दिएका छन् । स्वागत मन्तव्यका क्रममा चितवन जिल्लाका मुख्य जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले भवन अभाव रहेको जानकारी गराएपछि त्यसको जवाफमा प्रधान न्यायाधीश पराजुलीले भने,‘छिट्टै शिलान्यास हुने गरी नयाँ भवनका योजना तयार पार्नुहोस् ।’
कार्यक्रममा बोल्दै विशेष अतिथि प्रधानन्यायाधीश पराजुलीले मुद्दा फस्र्यौट र कार्यान्वयनको प्रशंसा गरे । चितवन अदालतको काम कारबाही र व्यवस्थापन अन्य जिल्लाका अदालतले समेत सिक्नुपर्ने उनको भनाइ थियो ।
सरकारी आवास गृह
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदीले भरतपुरमा सुविधासम्पन्न सरकारी आवास गृह बनाउने बताएका छन् । चितवन अदालतको स्वागत कार्यक्रममा बोल्दै उनले गृह निर्माणको सम्बन्धमा दुई दिन पहिले निर्णय भएको जनाएका छन् । पूर्व र पश्चिम जानका लागि चितवन केन्द्र रहेको बताउँदै मुख्य रजिष्ट्रार सुवेदीले सरकारी कर्मचारीको आवास सुविधाका लागि यस योजना प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

The post आलोचनाबाट विचलित नहुनु : प्रधानन्यायधीश  appeared first on चितवन पोष्ट.