कम्युनिष्ट सरकार कसैले रोक्न सक्दैनः ओली

कम्युनिष्ट सरकार कसैले रोक्न सक्दैनः ओली

भरतपुर, ५ मंसिर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनपछि ‘कम्युनिष्ट सरकार’ बन्नबाट कसैले रोक्न नसक्ने दावी गरेका छन् ।

चितवनको भरतपुरमा आयोजित वाम गठबन्धनको आमसभालाई सम्बोधन गर्दै ओलीले भने, “अब कम्युनिष्ट सरकार आयो–आयो, अब दुनियाँका कुनै शक्तिले पनि यसलाई रोक्न सक्दैन । उहाँहरुलाई कम्युनिष्ट सरकार आउँछ भन्ने चिन्ता छ, कम्युनिष्ट सरकार आयो–आयो ।” उनले देशका विभिन्न भागमा सुरक्षामा खलल पुग्ने गतिविधि भएको भन्दै सुरक्षा दिन सरकार पूर्णतया असफल भएको टिप्पणी गरे ।

“जताततै बम पड्किएका छन्, प्रधानमन्त्री सुरक्षा अवस्था राम्रो छ भन्छन्”, उनले भने, “यही बहानामा चुनाव सार्ने षडयन्त्र गर्न सक्छन्, अब कसैले पनि चुनाव रोक्न सक्दैन, जसले रोक्न खोज्छ उही सकिन्छ ।” आफ्नो नेतृत्वको सरकारले भारतले लगाएको नाकाबन्दी परास्त गरेको भन्दै उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई त्यसविरुद्ध एक शब्द बोल्न नसक्ने नेताको रुपमा व्याख्या गरे ।

“उहाँले नाकाबन्दी गर्न हुन्न, बाटो थुन्न हुन्न, ग्यास रोक्न हुन्न भनेर कहीं भनेको कसैले सुनाइदेओस्, सक्नुहुन्छ भने शेरबहादुरजीले नै देखाइदिए हुन्छ”, उनले भने, “त्यतिखेर मुखमा पानी हाल्नुभा’थ्यो, खै बोलेकै सुनिएन त ।”

The post कम्युनिष्ट सरकार कसैले रोक्न सक्दैनः ओली appeared first on kayakairan.com.