भैंसी अनुसन्धान केन्द्र स्थापना गरिने

भरतपुर । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत चितवनमा भैंसी अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ ।
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायकी डिन डा शारदा थपलियाले राष्ट्रियस्तरमा भैँसी अनुसन्धानको सर्वोच्च केन्द्र र सोअन्तर्गत स्याटेलाइट अनुसन्धान केन्द्र स्थापना गर्ने निष्कर्ष केही दिनअघि सम्पन्न ‘अन्तर्राष्ट्रिय भैँसी विज्ञको गोष्ठी’ बाट निस्केको जानकारी गराएकी छन् ।
कात्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म चितवनको सौराहामा सम्पन्न गोष्ठीले चार बुँदे निष्कर्ष निकालेकोमा सोमबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
अन्तर्र्रािष्र्ट«य भैँसी विज्ञहरुको समगोष्ठी आयोजक राष्ट्रको हैसियतले निकट भविष्यमा एशियन बफेलो कांग्रेस आयोजना गर्नका लागि प्रस्ताव पेस गर्ने र गुणस्तरीय दूध उत्पादनका लागि एशियन मस्टाइटिस काउन्सिल स्थापना गर्ने निष्कर्ष निकालेको थपलियाले बताइन् ।
गोष्ठीका सदस्य सचिव भूमिनन्द देवकोटाले झण्डै ४० प्रतिशतसम्म दुहुनु भैँसीमा देखिने गरेको थुनेलो रोग नियन्त्रणका लागि एशियन मस्टाइटिस काउन्सिल स्थापना गर्न सकारात्मक वातावरण बनेको उनले बताए । विश्वविद्यालयका कूलपति प्रा डा आइपी ढकाल, रजिष्ट्रार प्रा डा मनराज कोलाक्षपति, विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा नवराज देवकोटाले विश्वमा संख्याको हिसाबले पाँचौँं स्थानमा रहेको नेपालमा भएको भैँसी विज्ञहरुको समगोष्ठी आफैमा महत्वपूर्ण रहेको भन्दै यसले विश्वका भैँसीपालन गर्ने देशसँग विश्वविद्यालयको सम्बन्ध सुमधुर बनाउन सहयोग मिलेको बताए ।
कृषि तथा वनविज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय मुख्य आयोजक एवम् नेपाल सरकार, पशुपंक्षी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद् र मिचिगन स्टेट युनिभर्सिटी अमेरिकाको सहआयोजनामा गोष्ठी भएको हो । ‘खाद्य एवम् आर्थिक वृद्धिका लागि भैँसी उत्पादनमा वृद्धि’ नाराका साथ आयोजना गरिएको समगोष्ठीमा नेपालसहित १० देशका वैज्ञानिक सहभागी रहेका थिए ।

 

The post भैंसी अनुसन्धान केन्द्र स्थापना गरिने appeared first on चितवन पोष्ट.