गीत गाएलगत्तै निधन भयो खुसीरामको

गीत गाएलगत्तै निधन भयो खुसीरामको

विनोदबाबु रिजाल/ कायाकैरन
भरतपुर,६ मंसिर ।

जनवादी गायक खुसीराम पाख्रिन आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारलाई भोट बढाउन सांगीतिक माहोल तताउने प्रयासमा थिए । त्यसैको नेतृत्व गर्न उनको माउ पार्टी नेकपा माओवादी केन्द्रले आग्रह गरेको थियो । उनी मुडमा पनि आइसकेका थिए । तर, दुर्भाग्य उनले यो चुनावमा न भोट हाल्न पाए न भोट माग्न । आकस्मिक हृदयाघातबाट उनको मंगलबार निधन भयो ।
“हामी प्रगतिशील धारका प्रखर गायककै नेतृत्वमा सांस्कृतिक कार्यक्रमहरु बनाउँदै थियौं”, माओवादी केन्द्रका सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’ ले भने, “तर, त्यो पूरा हुन पाएन, उहाँलाई गुमाउनुप¥यो ।”
मंगलबार भरतपुरमा आयोजित बाम गठबन्धनको संयुक्त आमसभामा गीत गाउन निम्त्याइएका उनले ‘युवाहरु देश तिम्रै हो, भविष्य तिम्रै हो, नयाँ नेपाल बनाउने अभिभारा तिम्रै हो’ बोलको गीत गाए । संयोग कस्तो हुन गयो भने, माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशको निधनमा आयोजित श्रद्धाञ्जली सभासमेत थियो त्यो । श्रद्धाञ्जली अर्पण गर्दै गीत गाएपछि उही कारणले उनको पनि ज्यान लग्यो, जुन कारणले प्रकाशको निधन भएको थियो ।


गीत सकिदा मञ्चमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली आइसकेका थिए । शीर्ष नेतालाई शिष्टाचार गरेपछि उनले आसन ग्रहण गरे । “तर, लगत्तै असजिलो भयो, छाती दुख्यो भन्नुभयो”, पथिकले भने, “त्यसपछि अस्पताल लैजाँदै गर्दा गाडीमा बान्ता गर्नुभएछ, अस्पताल नपुग्दै निधन भइसकेको थियो ।”
तुरुन्तै भरतपुरको नारायणी सामुदायिक अस्पताल पु¥याइएका उनलाई अस्पतालले मृत घोषणा ग¥यो । उनलाई नेपाली प्रगतिशील सांस्कृतिक मोर्चाका नायकको रुपमा पथिकले चिनाए । “उहाँ सांस्कृतिक व्यक्तित्व हुनुहुन्छ”, उनले भने, “पञ्चायती कालरात्रि र बहुदलपछिका कयौं आन्दोलनमा उहाँले सांस्कृतिकरुपमा नेतृत्व गर्नुभयो । गायक, लेखक र संगीतकारसँगै उहाँ कुशल राजनीतिक चेत भएको व्यक्ति हुनुहुन्थ्यो ।” आकस्मिक हृदयाघात भएका उनको स्वास्थ्यमा ठूलो जटिलता नभएको पथिकले बताए । “२००९ सालको मान्छे, शरीर बूढो हुँदै जाँदा कमजोर त हुनुहुन्थ्यो”, उनले भने, “सामान्य प्रेसर र मधुमेह भएपनि ठूलो समस्या थिएन ।”
सांस्कृतिक आन्दोलनमा लामो समय संगत गरेका ईन्द्र रेग्मी खुसीरामलाई तीव्र राजनीतिक चेत भएका जनगायकका रुपमा चिनाउँछन् । “मैले २०३७ सालमा पहिलोचोटि भेटेको हो”, उनले सम्झिए, “त्योबेला पञ्चायविरोधी गीत गाएर जनतालाई जुरुक–जुरुक पार्नुहुन्थ्यो ।” उनले पश्चिम चितवनको गोब्रेनीमा खुसीरामलाई भेटेका थिए । “उहाँ गीत गाउनुहुन्थ्यो, मैले लालटिन बाल्थें । गीतले जनताको चेत खुलाउनुहुन्थ्यो ।”
रेग्मीले खुसीरामसँग त्यसबेला नेपाल कम्युनिष्ट पार्टी (चौथो) मा सँगै काम गरेका थिए । त्यसबेला मोहनविक्रम सिंहलाई माओत्सेतुङ र विक्रम लामालाई चाउएनलाईसँग दाँज्थे उनीहरुले । पछि त्यही पार्टी एकता केन्द्र बन्यो र फुट्यो । “त्योबेला उहाँ जनयुद्धतिर लाग्नुभयो”, रेग्मीले सम्झिए, “मचाहिं एकता केन्द्रमै बसें ।” त्यसपछि एकैपटक जनयुद्ध सकिएपछि मात्रै भेटेको उनले बताए । “म उहाँलाई दाइ भन्थें”, रेग्मीले सम्झिए, “तर, एक भेटमा कुरा गरेको उमेरले त भाइ हुनुहुँदो रहेछ ।”
उनी माओवादी शान्ति प्रक्रियामा आएर संसद्मा छिरेपछि सांसद्समेत बने । त्यसपछि पनि उनको गायन, लेखन, संगीत सिर्जना उस्तै रह्यो । पार्टी एकीकरणको सिलसिलामा रेग्मी र खुसीराम फेरि एकै मोर्चामा आइपुगे । चितवनमा अखिल नेपाल एकीकृत जनसंस्कृतिक मञ्चको अध्यक्ष रेग्मी बने भने खुसीराम संरक्षक । जुुनसुकै कार्यक्रममा पनि उनलाई सम्मानसाथ प्रमुख अतिथि वा विशिष्ट अतिथि बनाइन्थ्यो । साहित्य संगम चितवनको ‘मदन मोहन स्मृति पुरस्कार पनि पहिलोपटक उनैलाई दिइयो । शहीद शारदा स्मृति पुरस्कार पनि दिइयो । “आज उहाँको निधनबारे सुन्दा स्तब्ध भएँ”, रेग्मीले भने, “साह्रै असल मान्छे गुमाउनुप¥यो ।”
जनताको मुक्तिको सपना देखेर युद्धमा होमिएका खुसीरामले आफ्ना छोरा अमरलाई युद्धकालमै गुमाएका थिए । अहिले उनका श्रीमती, २ छोरी र १ छोरी छन् । उनी नेकपा माओवादी केन्द्र फुट्दा वैद्यतिर गएका थिए । पछि फेरि मूल पार्टीमा फर्किए । अहिले उनी केन्द्रीय सल्लाहकार थिए । आज बुधबार उनको पार्थिव शरीरलाई माओवादी जिल्ला पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र अन्त्येष्टी गरिने पथिकले जानकारी दिए ।

The post गीत गाएलगत्तै निधन भयो खुसीरामको appeared first on kayakairan.com.