रौतहटका घाइेतलाई प्रचण्ड र नेपालद्वारा भेट

भरतपुर । रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–५ स्थित राधाकृष्ण मन्दिरमा मंसिर २ गते संयुक्त वाम गठबन्धनको कार्यक्रममा गराइएको बम विष्फोटमा घाइते भएकाहरुलाई पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले मंगलबार अस्पतालमै पुगी भेट गरेका छन् । रौतहट नेता नेपालको गृह जिल्ला हो ।
घाइतेहरुसँग प्रत्यक्ष भेटी प्रचण्ड र नेपालले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । साथै उनीहरुले उपचारको क्रममा कुनै अभाव नगराइ उपचार गराउन अस्पताललाई आग्रह गरेका छन् । घाइतेहरु सबै सुकुमबासी हुन् । घाइतेहरुको शरीरमा गोलीको छर्रा लागेको छ ।
सो घटनामा आठ जना घाइते भएका थिए । घाइते मध्ये एक बालक, २ महिला र १ पुरुषको भरतपुरका दुई भिन्न मेडिकल कलेजमा उपचार भइरहेको छ । बालकको हात र खुट्टामा गम्भीर चोट लागेको छ ।
विष्फोटमा परी घाइते हुनेमा चन्द्रपुर नगरपालिका–५ की २८ वर्षीया सरिता राई, उनको सात वर्षीय छोरा जिसभिके राई छन् । दुवैको भरतपुर स्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । त्यस्तै घाइते २ जना चन्द्रपुर नगरपालिका–५ का ४५ वर्षीय लक्ष्मी राई, ५४ वर्षीय रामबहादुर विकको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
अन्य घाइतेहरूको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भएको थियो । घटनाको प्रकृति हेर्दा रिमोटबाट विष्फोटन गराइएको हुन सक्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी शान्तराम कोइरालाले बताए ।
आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको क्रममा संयुक्त वाम गठबन्धनले चन्द्रपुर नगरपालिका वडा नं. ५ स्तरीय संयुक्त भेलाको आयोजना गरेको थियो । भेलाको समापनपछि खाजा वितरणको क्रममा मन्दिरको मूल ढोका अगाडि जमीनमुनि बिछ्याइएको बम विष्फोट भएको थियो ।

फोटो क्याप्सन ः
अस्पतालमा घाइतेसँग भेट गर्दै नेता नेपाल

 

 

The post रौतहटका घाइेतलाई प्रचण्ड र नेपालद्वारा भेट appeared first on चितवन पोष्ट.