२० दल रहेको चितवनमा पूरै उम्मेदवार उठाउने जम्मा दुई दल

भरतपुर । चितवनको चुनावी मैदानमा २० दलले उम्मेदवार उठाउँदा पूरै क्षेत्रमा उम्मेदवार उठाउने जम्मा दुई दल मात्रै छन् ।
चितवनमा प्रतिनिधिसभाका तीन चुनावी क्षेत्र छन् । प्रत्येक क्षेत्रमा प्रदेशसभाका दुई क्षेत्र छन् । प्रनिधिसभा र प्रदेशसभाका कुल नौ क्षेत्रमा २० दलका ८२ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन कार्यालयको विवरणमा उल्लेख छ ।
ठूला भन्ने गरिएका दलहरुको गठबन्धन बनाएका कारण सबै नौ क्षेत्रमा उम्मेदवार उठाउनेमा साना भनिने दलहरु मात्रै छन् । त्यो पनि पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा भाग लिँदै गरेका नयाँ दुई दलले चितवनका सबै नौ क्षेत्रमा उम्मेदवार उठाएका छन् ।
निर्वाचन आयोगमा दर्ता भएका नयाँ दल विवेकशील साझा पार्टी र देशभक्त जनतान्त्रिक मोर्चा नेपालले चितवनको सबै क्षेत्रमा उम्मेदवार उठाएका हुन् । उम्मेदवारी दिएका २० दलमध्ये चार दलले प्रतिनिधिसभाका लागि कुनै उम्मेदवार उठाएका छैनन् । उनीहरुका उम्मेदवार प्रदेशसभामा मात्रै छन् । त्यस्तै प्रतिनिधिसभामा उम्मेदवार उठाएकामध्ये दुई दलले प्रदेशसभाका लागि कुनै उम्मेदवारी दिएका छैनन् ।
प्रतिनिधिसभामा एक एकजना उम्मेदवार उठाउने दलहरुको संख्या छवटा रहेको छ । प्रदेशसभामा एक एकजना उम्मेदवार उठाउने दलहरुको संख्या सात रहेको छ । प्रदेशसभामा मात्रै उम्मेदवार उठाउने चार दलमध्ये तीन दलका एक एकजना उम्मेदवार छन् ।
चितवनमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन छ । त्यस्तै नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को लोकतान्त्रिक गठबन्धन छ । त्यसैले मुख्य भनिने कांग्रेस, एमाले, माओवादी दलहरुले चितवनका सबै क्षेत्रमा आफ्ना मात्रै पार्टीका उम्मेदवार उठाएनन् । नेपाली कांग्रेसका आठ जना उम्मेदवार छन् । त्यस्तै नयाँ शक्ति पार्टी नेपालका पनि आठैजना उम्मेदवार छन् ।
एमालेका प्रतिनिधिसभामा दुई र प्रदेशसभामा चार गरेर छजना उम्मेदवार छन् । त्यत्ति नै उम्मेदवार नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का पनि छन् । नेकपा (माओवादी केन्द्र)का तीनजना उम्मेदवार छन् । माओवादीबाट फुटेर गएको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको चुनावी मोर्चा हो, देशभक्त जनतान्त्रिक मोर्चा अर्थात देशजमो नेपाल । जसले तीनवटै प्रतिनिधिसभा र छ प्रदेशसभामा उम्मेदवार दिएको छ ।
एमालेसँग गठबन्धन भएका कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनबाटै उठ्दा उनी सो पार्टीको जिल्लामा प्रतिनिधिसभाका एक मात्र उम्मेदवार हुन् । प्रचण्ड चितवन क्षेत्र नं. ३ का उम्मेदवार हुन् भने क्षेत्र नं. २ को प्रदेशसभा क्षेत्र नं. १ र प्रतिनिधिसभा क्षेत्र नं. ३ को प्रदेशसभा क्षेत्र नं. २ मा माओवादी केन्द्रका उम्मेदवारहरु छन् ।
कांग्रेसले चितवन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार दिएको छैन । सो पार्टीले त्यहाँ लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का विक्रम पाण्डेलाई सघाउने छ । यो बाहेक कांग्रेसले प्रतिनिधिसभाका दुई र चितवनका सबै प्रदेशसभा पदमा उम्मेदवार उठाएको छ । राप्रपा प्रजातान्त्रिकका प्रदेशसभामा कुनै उम्मेदवार छैनन् ।
राप्रपा प्रजातान्त्रिक जस्तै मंगोल अर्गनाइजेशन नेपाल पार्टीका पनि प्रतिनिधिसभामा मात्रै उम्मेदवार छन् । प्रदेशसभामा मंगोल अर्गनाइजेशनका उठेका छैनन् । मंगोल अर्गनाइजेशनले चितवनको क्षेत्र नं. १ र २ मा गरेर दुईजनालाई उठाएको छ । त्यस्तै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले प्रतिनिधिसभामा क्षेत्र नं. १ र २ मा उम्मेदवारी दिँदा प्रदेशसभामा एकजना मात्रैलाई उठाएको छ ।
त्यस्तै राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभा १ र २ का साथै प्रदेश सभामा तीनजना उम्मेदवार उठाएको छ । नेमकिपाले क्षेत्र नं. १ को प्रदेशसभा १ मा बाहेक प्रतिनिधिसभाका सबै क्षेत्र र अरु प्रदेशसभामा गरेर कुल आठ उम्मेदवार उठाएको हो ।
नयाँ शक्तिले प्रतिनिधिसभामा चितवन क्षेत्र नं. ३ बाहेक अरु प्रतिनिधिसभा र सबै प्रदेशसभामा उम्मेदवारी दिएको छ । संघीय समाजवादी फोरम नेपालले सबै प्रतिनिधिसभामा उम्मेदवार उठाउँदा प्रदेशसभामा दुईजनालाई मात्रै उतारेको छ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले चितवनको क्षेत्र नं. २ र प्रदेशसभामा एकजना मात्रै उम्मेदवार उठाएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीले चितवन क्षेत्र नं. २ र प्रदेशसभामा एकजना मात्रै उम्मेदवार उठाएको छ । चितवन क्षेत्र नं. ३ मा मात्रै उम्मेदवार उठाएको नेकपा (माले)ले प्रदेशसभामा तीनजनालाई मैदानमा उतारेको छ । त्यस्तै नेपाल दलित पार्टीले चितवन क्षेत्र नं. ३ मा प्रतिनिधिसभामा एकजना उम्मेदवार उठाउँदा प्रदेशसभामा पनि एकजना मात्रै उम्मेदवार उठाएको छ ।
प्रतिनिधिसभामा नभएर प्रदेशसभामा मात्रै उम्मेदवार उठाउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), नेपाली कांग्रेस (बीपी), राष्ट्रिय समाजवादी पार्टी र राष्ट्रिय शिव सेना पार्टी रहेका छन् । राप्रापाले प्रदेशसभामा चार जना उठाएको छ । नेपाली कांग्रेस बीपीले प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा १ मा मात्रै उम्मेदवार उठाएको छ ।
राष्ट्रिय समाजवादी पार्टीले क्षेत्र नं. १ को प्रदेशसभा २ मा र राष्ट्रिय शिव सेना नेपाल पार्टीले क्षेत्र नं. २ को प्रदेशसभा २ मा उम्मेदवार उठाएको छ । यी २० दल बाहेक चितवनमा प्रतिनिधिसभामा १२ र प्रदेशसभामा एक गरेर कुल १३ जना स्वतन्त्र उम्मेदवारहरु पनि छन् ।

The post २० दल रहेको चितवनमा पूरै उम्मेदवार उठाउने जम्मा दुई दल appeared first on चितवन पोष्ट.