निकुञ्जले बस रोक्न थालेपछि बाँदरझुला फेरि चर्चामा

भरतपुर । ‘बाँदरझुलाबाट यो सभामा आउनेहरु चढेको बस रोकिएछ । यो राम्रो भएन । यो ठिक काम भएन’ मंगलबार वाम गठबन्धनले भरतपुरमा राखेको चुनावी सभामा पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतावनीको शैलीमा भने । यसरी बस रोकेको पहिलो घटना भने थिएन ।
यसअघि पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने माडीको कार्यक्रममा आउने बस पनि रोकेको भन्ने जानकारी आएको थियो । गएको कात्तिक १८ मा माडीको बसन्तपुर बजारमा भएको कार्यक्रममा प्रचण्डले भनेका थिए ‘बाँदरझुलाबाट आउने बस रोकेर राम्रो काम भएन । मैले माथिसम्मै यसको कारण बारे बुझे । जे जसरी रोकियो त्यो उचित भएन ।’
माडी नगरपालिकाको वडा नं. ९ मा पर्ने बाँदरझुला बस्ती निकुञ्ज सिमानाभित्र पर्छ । सो ठाउँ अतिक्रमित क्षेत्र भएको सबैले स्वीकार गर्छन् । सो बस्तीलाई त्यहाँबाट हटाउन सरकारले तयारी पनि सुरू गरेको छ । सरकारले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र परेका कारण सो बस्ती अन्यत्र सार्न गत वर्ष अर्थात् ७३ सालको चैत ८ मा बस्ती स्थानानन्तरण समिति गठन गरेको थियो ।
भूमिसुधार व्यवस्था मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी संयोजक र चितवनका मालपोत कार्यालय प्रमुख सदस्य सचिव रहेको बाँदरझुला बस्ती व्यवस्थापन समिति गठन गरेको थियो । समितिले पिप्ले, शुक्रनगर, खैरहनी र माडीको कल्याणपुरमा छ मिटर चौडा बाटो र बिजुली खानेपानीको सुविधा भएको १३० वर्गमिटरको प्लट निर्माण गर्नुपर्ने हुन्थ्यो ।
ती प्लटमा गोलाप्रथाका आधारमा बाँदरझुलावासीले हक हस्तान्तरण नहुने, अंश बण्डा, दृष्टि बन्धक र धितो राख्न नपाउने जग्गा घर बनाउका लागि पाउँने प्रवधान थियो । तर, सो काम पनि अहिलेसम्म पूरा हुन सकेको छैन । अहिले चुनावी सभामा आउन गाडी नै रोक्न थालेपछि बाँदरझुला फेरि चर्चामा छ । गाडी निकुञ्ज प्रशासनले रोकेको हो ।
‘माडीको कार्यक्रममा जाने बेलामा गाडी बस्तीमा जान मिल्दैन भनियो । हिजो भरतपुरमा आउने बेलामा गाडी बस्तीमै गएको थियो । तर, निकुञ्जको गस्ती टोली त्यहीँ पुगेको रहेछ । उनीहरुले बसमै चढेर आएर डेढ घण्टासम्म बस अमुवा पोष्टमा राखे’ बाँदरझुलाका बासिन्दा एमाले नेता जगराम चेपाङले भने ।
जगराम एमाले माडी नगर समिति सदस्य साथै माडी नगरपालिकाको कार्यपालिका सदस्य पनि हुन् । अमुवा पोष्टले डेढ घण्टापछि गाडी छाडे पनि बगइ पोष्टले ५०० रुपैयाँ जरिवाना गरेको जगराम बताउँछन् । निकुञ्ज वन मन्त्रालयअन्तर्गत पर्छ । अहिलेका वनमन्त्री विक्रम पाण्डे सोही क्षेत्रका राप्रपा प्रजातान्त्रिकका तर्फबाट उम्मेदवार छन् । बस रोकिनु राजनीतिक कारण भएको एमालेका नेताहरु बताउँछन् ।
एमाले चितवनका कार्यबाहक अध्यक्ष तेजेन्द्र खड्काले बुधबार सामाजिक सञ्जालमा ‘देउवा सरकारका मन्त्रीले चुनाव जित्ने दिवा सपना देखेर यो घटना गरेको’ आरोप लगाए । चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल यो घटना राजनीतिक हुँदै नभएको बताउँछन् । ‘निकुञ्जको ऐन नियमले सुविधा प्राप्त बाटोभन्दा अन्यत्र गाडी चलाउन रोकेको छ’ कँडेलले भने ।
नियमले नदिएको बाटो प्रयोग गरेका कारण कारबाही भएको उनले बताए । ‘नियमले नदिएको बाटोमा गाडी चलाउन थालेपछि मुद्दासमेत चलाउन पाइन्छ । अटेर गर्दै गए त्यो हदसम्मको कारबाही हुन्छ । हामीले नियम हेरेका हौं, यसमा अरु केही भएको होइन’ प्रमुख संरक्षण अधिकृत कँडेलले भने ।
स्थानीय भने चुनावका लागि आउने गाडी बाहेक गाउँमा अरु गाडीहरु भने जाने गरेको बताउँछन् । ‘चुनावका लागि मान्छे चढ्ने गाडी रोकिएको छ । तर, अरु गाडीलाई त्यस्तो कडाइ छैन । स्कुल बस र बिहेका गाडी त चलेकै छन् । यत्ति हो रातमा बस्न पाउँदैनन्’ जगराम चेपाङले भने ।
मतदान केन्द्र भने बाँदरझुलामै
निकुञ्जले अतिक्रमित क्षेत्र किटान गरेको बाँदरझुलामा बस्नेहरुले चुनावका लागि आउने बस चढ्न नपाए पनि मतदान भने आफ्नै गाउँमा गर्न पाउँछन् । माडी नगरपालिकाको वडा नं. ९ मा दुईवटा मतदान केन्द्र छन् । एउटा मतदान केन्द्र कृष्णनगको विद्यालयमा छ भने अर्को मतदान केन्द्र बाँदरझुलाको विद्यालयमा छ ।
कृष्णनगर केन्द्रमा एक हजार ८४३ मतदाता छन् । बाँदरझुलामा ९२९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । बाँदरझुलाको मतदान केन्द्रमा कुसुमखोलालगायतका क्षेत्रका बासिन्दाले मतदान गर्ने छन् । जसलाई निकुञ्जले अतिक्रमित क्षेत्र बताउने गर्छ ।
बाँदरझुलामा लगभग ६०० घरधुरीमा तीन हजार ५०० जना बसोबास गरेको स्थानीयहरु बताउँछन् । सो क्षेत्रमा ४७ सालदेखि नै विभिन्न ठाउँका बाढीपीडितहरु गएर बस्न थालेका हुन् । संकटकाल लागेको बेला विसं २०५८ सालको फागुनमा निकुञ्ज प्रशासनले सो ठाउँको बस्ती उठाएको थियो । तर, पछि हटाएकाहरु फेरि फर्केर त्यही बस्न लागेका हुन् ।

The post निकुञ्जले बस रोक्न थालेपछि बाँदरझुला फेरि चर्चामा appeared first on चितवन पोष्ट.