जिल्ला स्तरीय तेक्वान्दो सुरु

गैँडाकोट । राष्ट्रिय तेक्वान्दो संघ जिल्ला शाखा नवलपुरले पहिलोपटक आयोजना गरेको जिल्लास्तरीय खुल्ला तेक्वान्दो च्याम्पियनसिपमा विभिन्न ३१ वटा डोजाङहरु सहभागी भएका छन् । नवलपुरको गैँडाकोटमा आयोजना गरिएको प्रतियोगितामा नवलपुर क्षेत्रका १४ वटा डोजाङ र चितवनका १७ वटा डोजाङका तीन सय खेलाडीहरु प्रतिस्पर्धामा रहेका छन् । प्रतियोगितामा महिलातर्फ २५ देखि ४९ किलो तौल समूहसम्म र पुरुषतर्फ २० देखि ६८ किलो तौल समूहमा प्रतिस्पर्धा गराइएको छ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र बेस्ट फाइटर हुने व्यक्तिका साथै डोजाङलाई समेत मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने राष्ट्रिय तेक्वान्दो संघ नवलपुर शाखाका अध्यक्ष कुसुम सुवेदीले जानकारी दिए । प्रतियोगिताअन्तर्गत शनिबार सेमी फाइलन र फाइनलका खेल हुने राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले बताए । शनिबारका लागि ५० जना खेलाडीहरु छनौट भएका श्रेष्ठको भनाइ छ । प्रतियोगिताको उद्घाटन गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले गरेका हुन् । प्रतियोगिताको उद्घाटन कार्यक्रममा गैँडाकोट नगरपालिकाकी उपप्रमुख विष्णु कुमारी कंडेल, वडा नम्बर ५ का वडा अध्यक्ष नवराज कँडेल, जिल्ला खेलकुद विकास समिति नवलपरासीका अध्यक्ष लक्ष्मण कार्कीलगायतको सहभागिता रहेको थियो । The post जिल्ला स्तरीय तेक्वान्दो सुरु appeared first on चितवन पोष्ट.