नवलपरासीमा निरन्तर साक्षरता कक्षा सञ्चालन हुने

नवलपुर । नवलपरासीमा साक्षरता कक्षाबाट साक्षर भएकाहरुलाई थप चार महिना निरन्तर कक्षा सञ्चालन गरिने भएका छन् ।
साक्षर जिल्ला रहेको नवलपरासीमा साक्षर हुन २ प्रतिशत भन्दा केही कम साक्षर हुन बाँकी रहेकाले त्यस्तालाई साक्षर गराउन सञ्चालन गरिएको साक्षरता कक्षाको निरन्तरता स्वरुप साक्षर कक्षा सञ्चालन गरिने भएको हो । निरन्तर शिक्षा कक्षा सञ्चालन गर्ने सहजकर्ताहरुको आइतबारदेखि नवलपुर क्षेत्रको चार ठाउँमा तालिम सञ्चालन गरिएको छ ।
नवलपुरको अरुणखोला, अमरापुरी, कावासोती र भारतीपुरमा गरी चार स्थानमा कक्षा सञ्चालन भएको जिल्ला शिक्षा कार्यालय नवलपरासीका सहायक जिल्ला शिक्षा अधिकारी तोयानाथ लम्सालले बताए ।
त्यस्तै परासी क्षेत्रमा पुस ११ गतेबाट सञ्चालन गरिने छ । पुष १६ गतेबाट नवलपरासीको नवलपरासी र पश्चिम नवलपरासी गरी दुवै स्थानमा एकै साथ १७२ स्थानमा कक्षा सञ्चालन गरिने लम्सालले बताए । नवलपुरमा ९५ स्थानमा र परासीमा ७७ स्थानमा कक्षा सञ्चालन हुने छन् । निरन्तर कक्षामा १६ वर्षदेखि ६० वर्ष उमेर समूहका साक्षरता कक्षामा सहभागी भएकाहरुको सहभागिता रहने छ ।
कावासोतीमा भएको तालिममा देवचुली नगरपालिकाका नगर शिक्षा अधिकारी मोती रिजाल, कावासोती नगरपालिकाका नगर शिक्षा अधिकारी कृष्ण पोख्रेल र स्रोत व्यक्ति हरिप्रसाद सिग्देलले तालिम दिएको कावासोती नगर शिक्षा अधिकारी पोख्रेलले बताए । नवलपरासीमा आर्थिक वर्ष २०७२/०७३ मा ३४० स्थानमा साक्षरता कक्षा सञ्चालन गरिएको थियो ।

The post नवलपरासीमा निरन्तर साक्षरता कक्षा सञ्चालन हुने appeared first on चितवन पोष्ट.