विकासमा दुई छिमेकीको चासो नारायणगढ–वीरगञ्ज सडक, विस्तारमा भारतले सहयोग गर्ने 

होमनाथ सापकोटा रत्ननगर । भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत बिसी प्रधानले एक वर्षभित्र वीरगञ्ज–नारायणगढ सडकलाई छ लेनको बनाउने काम सुरू हुने बताएका छन् । रत्ननगर उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको स्वागत कार्यक्रममा उनले भारत सरकारको सहयोगमा सो सडक ६ लेनको बन्ने स्पष्ट पारे । उनले वीरगञ्जदेखि नारायणगढ सडकखण्डलाई ६ लेन र ठोरीदेखि भरतपुरसम्मको सडकखण्डलाई विस्तार गर्न भारत सरकार सकारात्मक रहेको बताए । उनले सन् २०१९ सम्म जोगबनीदेखि वीरगञ्ज र जगनगरदेखि बद्रिबाससम्म रेल सञ्चालन गर्ने तयारीमा भारत सरकार रहेको बताए । प्रधानले नेपालको विकासका लागि भारतले लगानी बढाइरहेको भन्दै यसलाई निरन्तरता दिने बताए । उनले नेपालमा स्थिर सरकार बने विकास निर्माणले गति लिने भन्दै विकास निर्माणलाई प्राथमिकता राखेर अघि बढ्नुपर्ने बेला आएको बताए । नेपालको विकासका लागि सबैभन्दा बढी भारतकै सहयोग रहेको भन्दै आगामी दिनमा पनि सहयोगलाई बढाउँदै लैजाने बताए । महावाणिज्यदूत प्रधानले भारत सरकार नेपालको सडक निर्माणलाई प्राथमिकता दिइरहेको भन्दै हुलाकी राजमार्गपछि अन्य क्षेत्रको राजमार्ग फराकिलो बनाउने अभियानमा भारत सरकारले सहयोग गर्ने बताए । उनले नेपालको राजनीतिक परिवर्तनले भारतको सहयोग नरोकिने समेत स्पष्ट पारे । कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले पूर्वी चितवनको समृद्धिका लागि महत्वपूर्ण मानिएको टाँडी हुग्दी वैकल्पिक मार्ग निर्माणमा सहयोग गर्न महावाणिज्यदूत प्रधानमार्फत भारत सरकारलाई आग्रह गरेका छन् । उनले बाढीबाट पूर्वी चितवनलाई जोगाउन राप्ती, खगेरीलगायतका नदीमा तटबन्धन गर्ने कार्यमा आर्थिक आवश्यक सहयोग गर्न आग्रह गरे । उनले व्यवसायिक विकासका लागि भारत र नेपालका व्यवसायीहरु बीच सम्बन्ध विस्तार हुन जरुरी रहेको भन्दै उनले त्यसका लागि आफूहरु तयार रहेको बताए । उनले पुस २७ गतेबाट सुरू हुने रत्ननगर महोत्सवमा कृषि क्षेत्रको विकासका लागि भारतले उत्पादन गरेका प्रविधिहरुको प्रर्दशन गर्न भारतलाई आग्रह गरे । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष ज्ञानबहादुर विसुराल, पूर्वअध्यक्ष नारायणकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, महासचिव निराजन खनाल, कोषाध्यक्ष देवीप्रसाद डल्लाकोटी, रत्ननगर अस्पतालका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ, कार्यसमिति सदस्य पुरु खनाल, विरञ्जना घिमिरे, मीना उप्रेतीलगायतको सहभागिता रहेको थियो । फोटो छ । गैँडाकोटको विकासमा चिनिया चासो  गैँडाकोट । गैँडाकोट नगरपालिकाले प्राथमिकतामा राखेको ‘कालीगण्डकीको पानी गैँडाकोटको लगानी’ भन्ने नारालाई सार्थक बनाउनका लागि गैँडाकोटमा छलफल सुरू भएको छ । यसलाई पूरा गर्न विद्युत् उत्पादन गर्ने उद्देश्यका साथ चिनिया र गँैडाकोट नगरपालिकाको टोलीले संयुक्तरुपमा गैँडाकोट–३ को ढोडेनीमा रहेको कालीगण्डकीको बाध बाध्ने स्थलमा पुगेर अवलोकनसमेत गरेको थियो । अवलोकन पश्चात दुवै तर्फबाट सकारात्मक प्रतिक्रियाहरु आएको गैँडाकोट नगरपालिकाको मेयरका सचिवालय प्रमुख लक्ष्मीप्रसाद सोतीले जानकारी दिए । गैँडाकोट नगरपालिका र चीनको सेसियाङ सिटी बीच भगिनी सम्बन्ध स्थापनाका लागि अन्तक्र्रिया भएको सोतीको भनाइ छ । गैँडाकोट नगरपालिकामा गैँडाकोटका तर्फबाट मेयर छत्रराज पौडेल र चीनको सेसियाङ सिटीका तर्फबाट वैदेशिक सम्बन्ध अधिकृत डेभिड याङबीच आइतबार नगरपालिका परिसरमा वृहत् छलफल तथा अन्तक्र्रिया पनि भएको थियोे । अन्तक्र्रियामा बोल्दै गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले चीनको सेसियाङ सिटिसँग सम्बन्ध स्थापित गरेर विकासको अवधारणा प्रस्तुत गर्न चाहेको बताए । उनले चिनको सहयोगमा नेपालमै धेरै विकास निर्माणका काम भइरहेको स्मरण गर्दै बन्द भएको भृकुटी कागज कारखानाको विकल्पका बारेमा पनि चीनले सघाउने अपेक्षा व्यक्त गरे । टोलीले भृकुटी कागज कारखानाको समेत अवलोकन गरेको थियो । कार्यक्रममा बोल्दै सेसियाङ सिटीका वैदेशिक सम्बन्ध अधिकृत डेभिड याङले सम्भाव्यताको छलफल र अध्ययनपछि आफूहरुले पनि नेपालको विकासका लागी सहकार्य गर्न चाहेको बताए । नगरपालिकाका सबै निर्वाचित जनप्रतिनिधिको सहभागितामा भएको अन्तक्र्रियापछि डेभिड याङसहित नगरपालिकाको टोलीले गैँडाकोट क्षेत्रको पर्यटकीय र औद्योगिक क्षेत्रको अवलोकन गरेको नगरपालिकाका सहायक इञ्जिनियर सोतीले जानकारी दिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाले सहजीकरण गरेको कार्यक्रममा कृष्ण पाण्डेले भाषानुवाद गरेका थिए । नेपाल र छिमेकी राष्ट्रबीचको सम्बन्धका बारेमा जानकार गैँडाकोट–८ का ध्रुवप्रसाद न्यूरेको पहलमा गैँडाकोट नगरपालिका र सेसियाङ सिटीबीच सम्बन्ध स्थापनाबारे अन्तक्र्रिया भएको हो ।     The post विकासमा दुई छिमेकीको चासो नारायणगढ–वीरगञ्ज सडक, विस्तारमा भारतले सहयोग गर्ने  appeared first on चितवन पोष्ट.