अस्पतालका बिरामीलाई अण्डा खुवाइयो

रत्ननगर । पूर्वी चितवनको एक मात्र सरकारी अस्पताल रत्ननगर अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई आइतबार अण्डा खुवाइएको छ ।
पाँचौं पोल्ट्री दिवसको अवसरमा कुखुरा व्यवसायी संघ पूर्वी चितवनले बिरामीहरुलाई अण्डा वितरण गरेको हो । हरेक वर्ष कुखुराको मासु तथा अण्डा उत्पादनमा देखिएका समस्या र त्यसको सामधानको विषयलाई केन्द्रित गरेर चितवनका कुखुरापालक किसानहरुले यो दिवस मनाउँदै आएका छन् । यस वर्ष पाँचौं पोल्ट्री दिवस किसानहरुले रत्ननगरमा आज सोमबार मनाउँदै छन् ।
दिवसकै अवसरमा रत्ननगर अस्पतालमा उपचार गराइरहेका बिरामी र तिनका कुरुवाहरुलाई अण्डा वितरण गरिएको संघका अध्यक्ष निर्वतमान अध्यक्ष तथा नेपाल कुखुरा व्यवसायी मञ्चका उपाध्यक्ष रघुनाथ भट्टले बताए । बिरामीले पनि खान मिल्ने गरी अण्डा उसिनेर वितरण गरिएको उनले जानकारी दिए । कार्यक्रममा रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अजय न्यौपानेले अण्डा खादा हुने फाइदाका बारेमा जानकारी दिँदै उसिनेको अण्डा बिरामीले खाँदा असर नगर्ने बताए । उनले स्वास्थ्यका लागि दैनिक एक वटा अण्डा खाँदा राम्रो हुने उनले बताए ।
रत्ननगर अस्पतालका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेपाल ह्याचरी उद्योग संघ चितवनका अध्यक्ष ज्ञानबहादुर विसुराल, नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसी, नेपाल कुखुरा व्यवसायी मञ्च पूर्वअध्यक्ष चन्द्रमान श्रेष्ठ, नेपाल कुखुरा बजार व्यवस्थापन संघका केन्द्रीय उपाध्यक्ष निराजन खनाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कुखुरा व्यवसायी संघ पूर्वी चितवनका अध्यक्ष भीमनारायण श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
यसैबीच कुखुरा व्यवसायी संघ पूर्वी चितवनले दिवसकै अवसरमा गामबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकालाई अण्डा खुवाएको छ ।
केन्द्रमा आश्रित बालबालिकालाई खाजासहित अण्डा खुवाउनुका साथै केही अण्डा केन्द्रलाई हस्तान्तरणसमेत गरिएको नेपाल ह्याचरी उद्योग संघ चितवनका अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिए । नेपाल कुखुरा व्यवसायी मञ्च र नेपाल सरकारको पशुपंक्षी मन्त्रालयको संयुक्त आयोजनामा चितवनको रत्ननगरमा सोमबार पाँचौं पोल्ट्री दिवस मनाइँदै छ ।

 

The post अस्पतालका बिरामीलाई अण्डा खुवाइयो appeared first on चितवन पोष्ट.