गैँडाकोट महोत्सवको तयारी तीव्र

गैँडाकोट । उद्योग वाणिज्य संघ गैँडाकोटले आयोजना गरेको दोस्रो गैँडाकोट महोत्सवको तयारी तीव्र पारिएको छ ।
यही पुस २७ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन हुन लागेको महोत्सवको तयारी करिब ७० प्रतिशत सकिएको महोत्सव मूल समिति संयोजक दीपक सापकोटाले बताए । गैँडाकोट नगर क्षेत्रका स्थानीय उत्पादनलाई विशेष प्राथमिकतामा राखेको महोत्सवबाट धेरै युवाहरू आत्मनिर्भर बन्न सक्ने आयोजकले अपेक्षा लिएको छ ।
पहिलो गैँडाकोट महोत्सवबाट १० जनाभन्दा बढी युवाहरू आत्मनिर्भर बन्न सफल भएको दाबी गर्दै संयोजक सापकोटाले भने, ‘पहिलो महोत्सवले पनि हामीलाई धेरै पाठ सिकाएको छ । त्यसैले यो महोत्सव पहिलो भन्दा भव्य हुने छ । त्यस्तै यो महोत्सवबाट पनि धेरै युवाहरू आत्मनिर्भर बन्न सक्छन् भन्ने हामीलाई लागेको छ ।’ परम्परागत खाना, यहाँको कला, संस्कृति र कृषि प्रवद्र्धन नै महोत्सवको मूल उद्देश्य रहेको संयोजक सापकोटाले बताए । महोत्सवमा स्वदेशीसहित छिमेकी राष्ट्र, भारत, बंगलादेशका गरि करिब ३०० स्टल रहने उनले जानकारी दिए ।
विसं २०६८ सालमा स्थापना भएको उद्योग वाणिज्य संघले आयोजना गरेको पहिलो महोत्सवबाट निजी क्षेत्रका उद्योगी व्यवसायीहरूलाई हौसला मिलेको महोत्सव सचिवालय समिति संयोजक छवि कँडेलले बताए । २६ वटा विभिन्न उपसमितिले तीव्र तयारी गरिरहेको उनले बताए । गैँडाकोट नगरपालिकाभित्र रहेका करिब १५० वटा टोल विकास संस्था, १५० भन्दा बढी महिला समूहले पनि तयारीमा भरपुर सहयोग गरिएको उनको भनाइ छ ।
‘आफ्नो गौरव, आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैँडाकोट महोत्सव’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवबाट करिब एक करोड रूपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य लिएको उनले बताए । ‘महोत्सवबाट करिब एक करोड रूपैयाँ आर्थिक संकलन गर्ने हामीले लक्ष्य लिएका छौँ,’ उद्योग वाणिज्य संघ गैँडाकोटका महासचिवसमेत रहेका सचिवालय समिति संयोजक कँडेलले भने, ‘महोत्सव सम्पन्न गर्नको लागि करिब ७० देखि ७५ लाख रूपैयाँसम्म खर्च हुुने हाम्रो अनुमान छ ।’ गैँडाकोट नगरपालिका प्रदेश नं. ४ कै मुख्य नाका भएकोले पनि यो क्षेत्रलाई व्यवस्थापन गर्नको लागि पनि यो महोत्सव फलदायी हुने आयोजकले जनाएको छ । नेपाली युवाहरूलाई स्वदेशमै रोजगारको अवस्था सिर्जना गर्न पनि महोत्सवले मह¤वपूर्ण भूमिका खेल्ने उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष अमृत भट्टचनले बताए । ‘त्यसैले पनि यो महोत्सवलाई हामीले आम अभियानको रूपमा लिएका छौँ,’ उनले भने ।

The post गैँडाकोट महोत्सवको तयारी तीव्र appeared first on चितवन पोष्ट.