प्रहरीबाट ३६० लिटर घरेलु मदिरा नष्ट

धादिङ । धादिङको गल्छी गाउँपालिका स्थित बैरेनी प्रहरीले ३६० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
गल्छी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष राजन श्रेष्ठ र स्थानीयको सहभागितामा आइतबार बैरेनी प्रहरी चौकी पछाडिको ढलमा फालेर घरेलु मदिरा नष्ट गरिएको हो । महेश दोभान नजिकैबाट १८ वटा जर्किनमा राखेर बिक्रीका लैजाँदै गरेको अवस्थामा गस्तीमा गएको प्रहरी टोलीले शनिबार उक्त मदिरा बरामद गरेको बैरेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मोहन थापाले जानकारी दिए ।
सार्वजनिक सवारीसाधन प्रयोग गरी घरेलु मदिरा ओसारपसार भइरहेको पाइएपछि उक्त परिमाणको अवैध घरेलु मदिरा बरामद भएको थापाको भनाइ थियो । तर, प्रहरीले मदिरा नियन्त्रणमा लिँदै आए पनि मदिरा ओसार्ने व्यक्ति फरार रहेका छन् ।
खैरहनीमा घरेलु मदिरा नष्ट
इलाका प्रहरी कार्यालय खैरहनीले आइतबार ठूलो परिमाणमा अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय खैरहनीले जनप्रतिनिधि, समाजसेवी र पत्रकारको रोहबरमा करिब दुई हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो । निर्वाचनलाई मध्यनजर गर्दै प्रहरीले अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणमा कडाइ गरेको थियो । खैरहनीमा व्यापक मात्रामा घरेलु मदिराको उत्पादन र बिक्री वितरण हुने गरेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक कैलाशसिंह विष्टले बताए ।
खैरहनी ३, ८, १० नम्बर वडामा व्यापक मात्रामा मदिरा उत्पादन तथा बिक्री वितरण हुने गरेको उनले बताए । चौधरीका अनुसार मनहरि, लोथरबाट भने अहिले अवैध घरेलु मदिरा ल्याउने काम भने शून्य जस्तै भइसकेको छ । खैरहनी नगरपालिका–६ का वडाध्यक्ष रामशरण पाण्डे, ७ का वडाध्यक्ष मेनेजर चौधरी, समाजसेवी मुरलीप्रसाद गजुरेललगायत पत्रकारको उपस्थितिमा मदिरा नष्ट गरिएको थियो ।

The post प्रहरीबाट ३६० लिटर घरेलु मदिरा नष्ट appeared first on चितवन पोष्ट.