सारङ्गीको धुनमा रमाएको चार दशक

–तुलमान गुरूङ
सौराहा । बिहान सात/आठ बजेपछि वीरबहादुर गन्धर्वको नियमित क्रियाकलाप सुरू हुन्छ । तनहुँस्थित भानु नगरपालिका वडा नं. १० चोक दूधेका ६३ वर्षीय उनी विगत १० वर्षदेखि चितवनमा आफ्नो कला प्रदर्शन गरेर जीविकोपार्जन गर्दै आइरहेका छन् ।
हाल श्रीमतीलाई साथमा लिएर ज्यामिरेमा बस्दै आएका उनी बिहानीको सुरूवातसँगै सारङ्गी बोकेर सौराहाको लागि म्याजिक चढ्छन् त्यस्तै आठ बजेसम्म सौराहा पुग्ने गरी । राप्ती किनारमा बसेर जंगली जनावरलाई नियालिइरहेका आन्तरिक तथा बाह््य पर्यटकलाई उनी सारङ्गी बजाएर बिहानी धुन सुनाउँछन् । त्यसपछि उनी सौराहाका हरेक होटल तथा पसलहरूमा सारङ्गी बजाउँदै हिँड्छन् । त्यतिबेला घडीले १२ बजाएको हुन्छ, जब उनी आफ्नो कोठातर्फ फर्किने समय हुन्छ ।
उनलाई गन्धर्व जातिको पहिचान दिलाउने मुख्य पेसा लोप हुने अवस्थामा पुगेकोमा बढी चिन्ता लाग्छ । सौराहाको एउटा होटलको बाहिर बसेर सारङ्गी बजाउँदै गर्दा भेटिएका वीरबहादुर भन्छन्, ‘नेपालमा आधुनिक बाजा भित्रिएपछि हाम्रो पेसा संकटमा प¥यो ।’ तैपनि आफू बाँचुञ्जेल पेसालाई मर्न नदिने उनको अठोट छ । बिहानको समयमा प्रायः उनी सौराहातिरै हुन्छन् । दिउँसो कोठामा फर्किएपछि उनी आफ्नै कोठामा प्राक्टिस गर्छन् । ‘पहिलेपहिले विरहको भाका सुन्न मन पराउँथे । तर, अहिले गीतसंगीत पनि फरक भइसकेको छ,’ उनी भन्छन्, ‘त्यसैले मान्छेहरूले कस्ता गीत सुन्न मन पराउँछन् सोहीअनुसारको गीत गाउँने प्राक्टिस गर्छु ।’ दिउँसोको समयमा सारङ्गी बजाउन सिक्न आउनेलाई पनि सिकाउने गरेको उनले बताए ।
बुबाबाटै सिकेका हुन्, उनले सारङ्गी बजाउन । ‘तर, पेसाकै रूपमा अँगालेको भने ४० वर्षजति भयो,’ विगत सम्झँदै उनी भन्छन्, ‘सारङ्गी बजाउने पेसा हामी गन्धर्व जातिहरूलाई चिनाउने सबैभन्दा ठूलो पहिचान हो । त्यसैले गन्धर्व जातिले सारङ्गी बजाउन जान्नै पर्छ ।’ उनले १३ वर्ष राष्ट्रिय नाचघरमा सारङ्गी बजाए । नेपाल सरकारबाट उपदान पाएर अहिले पनि उनले आफ्नो पेसालाई निरन्तरता दिइरहेका छन् । नाचघरमा जागिरे छँदै उनले राजा वीरेन्द्रबाट पुरस्कृत भएको क्षणलाई पनि सम्झिए ।
‘मेरो प्रतिभा देखेर विसं २०५५ सालमा राजा वीरेन्द्रको हातबाट गोरखा दक्षिणबाहु चौथो पुरस्कार थाप्ने मौका पनि मिल्यो,’ उनले भने, ‘त्यसपछि पनि मैले विसं २०५७ सालमा राष्ट्रिय प्रतिभा गोपाल योञ्जन संगीत पुरस्कार पाएँ । यो मेरो जिन्दगीको बिर्सन नसकिने क्षण हो ।’ त्यसअघि पनि विसं २०५२ सालमा बीसहजार रूपैयाँ राशीसहित लोक गायन भद्रकुमारी पुरस्कार पाइसकेको उनले बताए ।
तर, अहिले सबैको हातहातमा मोबाइल, हरेकको कोठाकोठामा टेलिभिजन अनिवार्य भइसकेकोले सारङ्गी पेसा संकटमा परेको उनको बुझाइ छ । ‘शहर बजारका मानिसहरूलाई सारङ्गीको धुन सन्न मन लागे प्रशस्तै दोहोरी साँझ खुलेका छन्,’ उनले भने, ‘त्यसैले हिजोआज धेरैले यसरी बजाएर हिँड्न छाडिसके ।’ अहिले सौराहाका होटल तथा पसलहरूमा चहारेरै उनले आफ्नो घरखर्च चलाइरहेका छन् । सारङ्गी बजाएरै दिनमा चार÷पाँचसय रूपैयाँ आम्दानी गर्छन् । ‘कहिलेकाहीँ सात/आठ सय रूपैयाँसम्म कमाइ हुन्छ,’ उनले भने ।

 

The post सारङ्गीको धुनमा रमाएको चार दशक appeared first on चितवन पोष्ट.