गैंडाकोट महोत्सव सुरु, ‘उत्पादन प्रवद्र्धन गर्न महोत्सव आवश्यक’

– तुलमान गुरुङ
गैँडाकोट । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उत्पादनको प्रवद्र्धन गर्न महोत्सव आवश्यक भएको बताएकी छन् । गैंडाकोट महोत्सवको उद्घाटन गर्दै राणाले स्थानीय उत्पादनको प्रवद्र्धन गर्न, यसको प्रचार गर्न र आर्थिक समृद्धि ल्याउन पनि महोत्सवको महत्वपूर्ण भूमिका हुने बताइन् ।
गैँडाकोट क्षेत्रको धार्मिक तथा पर्यटन प्रवद्र्धनको लागि बिहीबारबाट दोस्रो गैँडाकोट महोत्सव सुरू भएको छ । उद्योग वाणिज्य संघ गैँडाकोटको आयोजनामा महोत्सव आयोजना गरिएको हो ।
अध्यक्ष राणाले गैँडाकोट मात्रै नभई समग्र नवलपुर जिल्लाकै विकासको लागि यो महोत्सवले मह¤वपूर्ण भूमिका खेल्ने बताइन् । हरेकमेला महोत्सव महिलाहरूका लागि बढी विशेष हुने गरेको उनले बताइन् । ‘हरेक मेला महोत्सव महिला दिदीबहिनीहरूको सीप प्रदर्शन गर्ने स्थल बन्दै गएको मैले महसुस गरेकी छु’ उनले भनिन् । यसलाई अझ माथि उठाउनको लागि हरेक प्रदेशमा प्रदर्शनीस्थल आवश्यक रहेको उनले बताइन् । ‘स्थानीय उत्पादनको प्रवद्र्धनको लागि हुने मेला महोत्सवबाट रोजगारको अवस्था सिर्जना गर्नमा ठूलो सहयोग पु¥याएको छ’ उनले भनिन् ।
उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले नवलपुर गैँडाकोटको स्रोत र साधन प्रयोग गरेर जिल्लालाई नमूना बनाउन सकिने बताए । नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु मरासिनीले गैँडाकोट महोत्सवले केही समय अघि मात्रै स्थापना भएको नवलपुर जिल्लालाई अन्तर्राष्ट्रियस्तरमै चिनाउनमा मद्दत पु¥याउने बताए । ‘यो महोत्सवले समृद्ध र नेपालकै नमूना जिल्लाको रूपमा नवलपुर जिल्लालाई चिनाउनेछ भन्नेमा म विश्वस्त छु’ उनले भने । महोत्सवबाट संकलन भएको रकमले उद्योग वाणिज्य संघको भवन निर्माणको लागि सहयोग पुग्ने महोत्सव मूल आयोजक समितिका संयोजक दीपक सापकोटाले बताए । उद्योग वाणिज्य संघ गैँडाकोटका उपाध्यक्षसमेत रहेका महोत्सव मूल समारोह समितिका संयोजक सापकोटाले महोत्सवलाई सफल बनाउनका लागि सबैलाई रचनात्मक सहयोग गर्न पनि आग्रह गरे ।
स्थानीय उत्पादनको प्रवद्र्धनको लागि दोस्रो पटक महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष अृमत भट्टचनले बताए । आगामी वर्षहरूमा पनि स्थानीयको चाहना र मागअनुसार महोत्सवलाई परिमार्जित गर्दै जाने बताए । महोत्सव उद्घाटनअघि गैँडाकोट नगरपालिका परिसरबाट महोत्सवस्थल नारायणी नदी किनारसम्म शोभायात्रा निकालिएको थियो । महोत्सवमा पञ्चकन्या, पञ्चेबाजा, हात्ती, उँटलगायत, गैंडाकोट क्षेत्रका विभिन्न संघ संस्थाले आ–आफ्नो भेषभूषामसेत प्रदर्शन गरेका थिए ।
१० दिनसम्म चल्ने महोत्सवमा ४० वटा प्रवद्र्धनात्मक र कृषिका १७ वटा स्टलसहित ३२० वटा स्टल रहेको आयोजकले जनाएको छ । महोत्सव अवधिभर दैनिक राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने छ ।

The post गैंडाकोट महोत्सव सुरु, ‘उत्पादन प्रवद्र्धन गर्न महोत्सव आवश्यक’ appeared first on चितवन पोष्ट.