जितेका सडकमा, हारेका सरकारमा 

रत्ननगर । प्रतिनिधिसभा सांसद सुरेन्द्र पाण्डेले सत्ता लिप्साका कारण निर्वाचनमा जितेकाहरु सडकमा र हारेकाहरु सरकारमा बस्ने अवस्था आएको बताएका छन् ।
जनताबाट पराजितहरुले राज्य सञ्चालन गर्ने अवस्था आउनु अत्यन्तै दुर्भाग्य भन्दै उनले नयाँ सरकारलाई छिट्टै सत्ता हस्तान्तरण गर्न सरकारलाई आग्रह गरे । रत्ननगर महोत्सवको उद्घाटन समारोहमा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले निर्वाचनको माध्यमबाट जनताले पछाडि धकेलेकाहरु सरकारमा रहेका कारण महत्वपूर्ण निर्णय हुन नसकेको बताए । ‘चुनाव जित्नेहरु सडकमा छन्’ उनले भने, ‘सरकार हारेका व्यक्तिले चलाएका छन्, उनीहरुले निर्णय गर्न सक्दैनन् ।’
सरकारले निर्णय गर्न नसक्ने भएका कारण चिसोले जीवनयापन गर्न नसकेका नागरिकलाई सहयोग गर्न नसकेको उनको भनाइ छ । ‘भूकम्पले भत्काएको घर बनाउन नसकेर यस्तो जाडोमा नागरिक आकाशमुनि रात बिताउन बाध्य छन्’ उनले भने, ‘तर यो सरकारले गर्न सक्ने अवस्था छैन ।’ शेरबहादुर देउवा नेतृत्वको सरकारले आफूले पनि केही काम नगर्ने र सरकार पनि नछाड्नाले समस्या भएको बताए । उनले भिजन र स्पष्ट दृष्टिकोणसहितको नयाँ सरकार बन्ने बताएका छन् । उनले मुलुकलाई समृद्ध बनाउन प्रतिबद्ध सरकार र मेहनती जनता आवश्यक रहेको बताए ।

The post जितेका सडकमा, हारेका सरकारमा  appeared first on चितवन पोष्ट.