वामगठबन्धन सच्चादेशभक्त हो भने, असमान सन्धि सम्झौता खारेज गरः परि थापा

नवलपुर । नेकपा क्रान्तिकारी माओवादीको नेता परि थापाले नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन सच्चा कम्युनिस्ट र राष्ट्रवादी गठबन्धन भए उसको नेतृत्वमा बन्ने सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले भारतसँग भएको असमान सन्धि सम्झौता खारेज गर्ने निर्णय गर्नुपर्ने बताएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघले नवलपरासीको कावासोतीमा बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकार गठन भएलगतै असमान सन्धि, सम्झौता खारेज र बन्द भएका देशका सरकारी कलकारखानाहरु खोल्न माग गरेर ध्यानाकर्षण गर्ने तय गरिएको बताए ।
त्यस्तै उनले अब बन्ने एमाले माओवादी केन्द्रको गठबन्धनको सरकारले होस् या नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन कसैले पनि देशमा निकास दिन नसक्ने बताए । देशभक्त जनगणतान्त्रिक मोर्चाका सचिवसमेत रहेका परि थापाले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि लागेको मुद्दाको निष्पक्ष छानबिन हुनुपर्ने र दोषी भए कारबाही गर्नुपर्नेमा बताए । पत्रकार सम्मेलनपछि नेकपा क्रान्तिकारी माओवादी नवलपुरको जिल्ला बैठक एवम् प्रशिक्षणसमेत गरेको छ । कार्यक्रममा परि थापा, श्यामलगायतले प्रशिक्षण दिएका थिए ।
बैठकले अबको तीन महिना संगठन सुदृढीकरण गर्ने र विभिन्न संघसंस्था, सरकारी कार्यालयहरुमा भएको अनियमिततालाई खबरदारी गर्दै त्यसलाई सार्वजनिक गर्दै जाने निर्णय गरेको छ ।

The post वामगठबन्धन सच्चादेशभक्त हो भने, असमान सन्धि सम्झौता खारेज गरः परि थापा appeared first on चितवन पोष्ट.